भारत सरकारले पाम तेल र पामोलिनको पैठारीमा लगायो रोक, नेपालबाट हुने २५ अर्ब बढीको निर्यात प्रभावित |
विराटनगर । भारत सरकारले रिफाइन्ड पाम आयल र रिफाइन्ड पामोलिनको पैठारीमा रोक लगाएको छ । भारतले रोक लगाएपछि नेपालबाट चालु आवमा हुने २५ अर्बभन्दा बढीको निर्यात प्रभावित हुने भएको छ ।
भारतको वाणिज्य विभाग अन्तर्गतको वैदेशिक व्यापार निर्देशनालयले बुधवार परिपत्र जारी गर्दै दुवै प्रकारका प्रशोधित तेलको पैठारीमा रोक लगाएको हो ।
चालु आर्थिक वर्षको ५ महिनामा विराटनगर नाकाबाट साढे ४ अर्ब र वीरगञ्ज नाकाबाट साढे ६ अर्ब बराबरको पाम तेल भारत निर्यात भएको तथ्याङ्क छ ।
भारत सरकारको वैदेशिक व्यापार विभागका महनिर्देशक अमित यादवले हस्ताक्षर गरेको परिपत्रमा हार्मोनी कोड १५११९०१० को रिफाइन्ड ब्लिच्ड डेडोराइज्ड पाम तेल, १५११९०२० को रिफाइन्ड ब्लिच्ड डेडोराइज्ड पामोलिन र १५११९०९० को अन्य तेलको पैठारी रोक्न निर्देशन गरिएको छ ।
नेपालबाट साफ्टा सम्झौता अन्तर्गत शून्य प्रतिशत भन्सार महसुलमा पाम तेल त्यसतर्फ निकासी हुनसक्ने देखेपछि सबैभन्दा पहिले केएल दुगड समूहले स्वस्तिक आयल इन्डस्ट्रिजबाट पाम तेलको निकासी शुरु गरेको थियो ।
यसपछि मुन्दडा ग्रुपको बाबा भेजिटेबल, मुरारका समूहको श्रीराम रिफाइनरी, घनश्याम काबराको क्वालिटी रिफाइनरी र शारडा–राठी समूहको पशुपति खाद्यतेल उद्योगले पाम तेलको निकासी गरिरहेका थिए ।
नेपालबाट साफ्टा अन्तर्गत पाम तेल निर्यात गर्दा भारतमा वस्तु तथा सेवा कर (जिएसटी)–बापत १२ प्रतिशत तिर्नुपर्थ्यो । जिएसटीको उक्त रकम भारतीय क्रेताले तिर्ने हुँदा नेपाली व्यवसायी कर र शुल्कबाट पूर्णतː मुक्त थिए ।
पाम तेलको कच्चा पदार्थ मलेसिया वा इन्डोनेसियाबाट पैठारी हुन्छ । पाम तेलसँगै विराटनगर भन्सारबाट थोरै मात्रामा भटमासको तेल पनि भारत निर्यात गरिएको छ । भटमासको तेल पनि साफ्टा सम्झौता अन्तर्गत शून्य प्रतिशत भन्सार मूल्यमै भारत निकासी गरिएको हो ।
भन्सार कार्यालयका अनुसार विराटनगर–जोगबनी नाकाबाट गत आर्थिक वर्षमा ८४ करोड ५३ लाख मूल्यको ८ हजार ३ सय ५ मेट्रिक टन भटमासको तेल निकासी गरिएको छ । पाम तेल निकासी गर्ने उद्योगले नै भटमासको तेलको पनि कारोबार गरेका हुन् । तर, भारतले भटमासको तेलको पैठारीमा भने रोक लगाएको छैन ।
खाने तेलमा पाम तेल सबैभन्दा सस्तो मानिन्छ । विराटनगरको खुद्रा बजारमा पाम तेलको मूल्य प्रति लिटर १ सय १० रुपैयाँ छ । पाम तेल विशेष गरी होटलमा प्रयोग गरिन्छ । यसमा तारिएको खानेकुरा धेरै दिनसम्म नगह्नाउने र झुरुमझुरुम हुन्छ ।