इराकस्थित अमेरिकी सैन्य अखडामा इरानद्वारा ब्यालेस्टिक मिसाइल प्रहार |
काठमाडौं । इराकस्थित अमेरिकी सेनाको हवाई अड्डामा इरानले आक्रमण गरेको छ । अमेरिकी ड्रोन आक्रमणमा आफ्ना सैन्य कमान्डर कासिम सुलेमानी मारिएपछि क्रुद्ध बनेको इरानले त्यसको प्रतिक्रियास्वरूप इराकमा रहेको अमेरिकी सेनाको दुई हवाई अड्डामा दर्जन बढी ब्यालेस्टिक मिसाइल आक्रमण गरेको हो ।
अमेरिकाको रक्षा विभागले इरबिल र अल असदका अलग–अलग सैन्य अखडामा इरानबाट मिसाइल आक्रमण भएको पुष्टि गरेको छ ।
पेन्टागनका अनुसार, मिसाइल आक्रमणबाट अमेरिकी हवाई अड्डामा हताहती भएको छ या छैन भन्नेबारे प्रष्ट हुन बाँकी छ ।
इरानी सरकारी टेलिभिजनले इराकस्थित अमेरिकी सैन्य अखडामा इरानले आक्रमण गरेको जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा आफ्ना सैन्य कमान्डरको ज्यान गएकाले त्यसको बदलास्वरूप प्रतिआक्रमण गरिएको इरानी रिभोलुसनरी गार्डको भनाइ छ ।
सुलेमानीको मंगलबार अन्त्येष्टि गरिएलगत्तै इरानले अमेरिकी सेनामाथि आक्रमण गरेको हो । इरानले अमेरिकालाई सहयोग गर्दै आएकाहरुलाई पनि आक्रमण गर्ने चेतावनी दिएको छ । इराकस्थित सैन्य क्याम्पहरुलाई स्थानीयले आवासलगायतका पूर्वाधारमा सहयोग गर्दै आएका छन् ।