विराटनगर विमानस्थल अब अन्तरराष्ट्रिय स्तरको बन्दै |
विराटनगर । काठमाडौंबाहिरका चारओटा विमानस्थललाई अन्तरराष्ट्रिय विमानस्थलका रूपमा विस्तार गर्ने सरकारको योजनामुताबिक विराटनगर विमानस्थलको स्तरोन्नति गर्न लागिएको छ । विराटनगर विमानस्थललाई अन्तरराष्ट्रिय स्तरको बनाइनका ३ हजार मिटर रनवेको योजना तयार पार्न प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले निर्देशन दिइसकेका छन् ।
क्षेत्रीय विमानस्थलका रूपमा विकास गर्न ६ सय मिटर थप गरी गरी ३ हजार पु¥याउनुपर्ने देखिएको छ । सोमवार आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री राईले यस्तो निर्देशन दिएका हुन् ।
उनले विराटनगर विमानस्थललाई अन्तरराष्ट्रिय स्तरको बनाउन प्रदेशको मन्त्रिपरिषद् बैठकबाट पारित गरी सङ्घीय सरकारसमक्ष पु¥याउने बताए । विमानस्थललाई प्रादेशिक उडान गर्ने गरी स्तरोन्नति भइरहेको नेपाल नागरिक उड्डयन प्राधिकरण विराटनगरका प्रमुख टेकनाथ सिटौलाले जानकारी गराएका थिए । उनले पटकपटक विमानस्थल विस्तार गर्ने योजना ल्याउनुभन्दा एकैपटक ल्याएर अगाडि बढ्न सहज हुने बताए । उनले अहिले विराटनगर विमानस्थलबाट प्रत्येक दिन १५ ओटा उडान हुने गरेको भन्दै यसलाई विस्तार गर्न कम बस्ती भएकाले पश्चिमपट्टि विस्तार गर्न सहज हुने बताए ।
अन्तरराष्ट्रिय विमानस्थल बनाउने हो भने वस्ता नालालाई पश्चिमतिर लैजानुपर्ने र केशलिया खोलालाई डाइभर्ट गर्नुपर्ने बताइएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका हवाई उद्योग व्यवस्थापन महाशाखा प्रमुख सहसचिव सुरेश आचार्यले अन्तरप्रादेशिक उडानका लागि ३ हजार मिटर रनवे आवश्यक रहेको भन्दै अन्तरराष्ट्रिय मापदण्डको बनाउन मन्त्रालय सकारात्मक रहेको जानकारी दिए ।
अन्तरक्रियामा प्रदेशका उद्योग, वन तथा पर्यटनमन्त्री जगदीश कुसैयत, विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली, मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यलगायतले विमानस्थलबाट पश्चिम रनवे विस्तारका लागि समस्या नरहेको बताएका छन् । १ सय १५ बिगाहा क्षेत्रफलमा फैलिएको विमानस्थलको लम्बाइ हाल १ हजार ५ सय मिटर मात्रै छ । अन्तरराष्ट्रिय विमानस्थलको रूपमा विस्तार भएपछि वार्षिक ८ देखि ९ अर्ब पूँजी वृद्धि हुनेछ । हाल प्रदेश नम्बर १ मा १३ ओटा विमानस्थल सञ्चालनमा छन् भने २ ओटा निर्माणाधीन छन् ।