इटालीमा नेपाल इन्भेष्टमेन्ट बैंकले हार्यो २ अर्बको मुद्दा |
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले करिब २ अर्ब रुपैयाँको भुक्तानीसम्वन्धि मुद्धा हारेको छ । तनहुँ जलविद्युत आयोजनाका लागि राखिएको कार्यसम्पादन जमानत जफत भएपछि इटालियन बैंकले नेपाल इन्भेष्टमेन्टलाई काउन्टर ग्यारेन्टीबापतको भुक्तानी गर्न नपर्ने अदालतले फैसला गरेको हो ।
तनहुँ हाइड्रोको इटालियन ठेकेदार कोअपरेटिभ मुराटोरी ई केमेन्टिस्टी (सीएमसी)ले स्थानीय अदालत ‘ट्रिबुनाल डी बोलोग्ना’ मा मुद्दा दायर गरेको थियो । सीएमसीले मुद्धा जितेपछि इन्भेष्टमेन्ट बैंकलाई काउन्टर ग्यारेन्टीबापत नेपालमा तनहुँ हाइड्रोलाई दिएको करिब २ अर्ब रुपैयाँ असुलउपर गर्न कठिन भएको छ ।
तनहुँले ८५ करोड नेपाली रुपैयाँ र ८७ लाख ४९ हजार युरो गरी करिब १ अर्ब ९७ करोड बराबरको ग्यारेन्टी रकमबापतको भुक्तानी इन्भेष्टमेन्ट बैंकबाट जफत गरेको थियो । नेपाल राष्ट्र बैंक स्रोतका अनुसार इटालीको अदालतले जमानतबापत जफत भएको रकमको काउन्टर भुक्तानी स्थानीय इन्टेसा सानपओलो बैंकले इन्भेस्टमेन्ट बैंकलाई दिन नपर्ने भनेको हो । इन्भेष्टमेन्ट बैंकले फैसलाविरुद्ध इटालीका माथिल्ला अदालतमा पुनरावेदन गर्न सक्ने विकल्प भने खुला नै छ ।
आफ्नो आयोजनामा काम सुरु नगर्दै मेलम्चीबाट सीएमसी भागेपछि तनहुँ जलविद्युत आयोजनाले ठेक्का तोडेको थियो । जमानत ठेक्का तोडिएपछि आयोजनाले इन्भेष्टमेन्ट बैंकबाट जमानत जफत गर्यो । त्यसपछि इटालियन ठेकेदार कम्पनी आफ्नो जफत भएको जमानतबापत बैंकलाई रकम भुक्तानी गर्न नसकिने भन्दै अदालत गएको थियो ।
नेपालमा काम गर्ने वातावरण नभएको र आयोजनाले नै आफूमाथि छल गरेकाले आयोजना छाड्नुपर्ने अवस्था आएको भन्दै बैंक जमानत बापतको रकम आफूले तिर्न नसक्ने दाबी सीएमसीको थियो । उसले आफुलाई काम गर्ने वातावरण नबनाइएको, कम्पनीका प्रतिनिधिको पासपोर्ट जफत गरेर असुरक्षा सिर्जना गरिएको लगायतका दावी गरेको छ ।
नियमअनुसार इन्भेष्टमेन्ट बैंकले जफत भएको बराबरको रकम काउन्टर जमानी दिएको इटालियन इन्टेसा सानपओलो बैंकबाट पाउनुपर्ने हो । त्यसअनुसार इन्भेष्टमेन्ट बैंकले इन्टेसा सानपओलोसँग जफत भएको बराबरको रकम मागेको थियो । इटालियन अदालतले मार्च १४ मा प्रारम्भिक सुनुवाई गर्दै तत्काल इन्भेस्टमेन्ट बैंकलाई रकम भुक्तानी नदिन अन्तरिम आदेश दिएको थियो । त्यसपछि गत सेप्टेम्बरमा भएको सुनुवाईपछि सीएमसीकै पक्षमा अदालतले फैसला सुनाएको हो ।
मेलम्चीबाट काम छाडेर भागेको सीएमसीलाई तनहुको साइटमा काम थाल्न २८ दिनको समय दिएको थियो । तर, समयसीमामा सीएमसी काममा नफर्किएपछि ठेक्का रद्द गरिएको थियो ।
१४० मेगावाट जडित क्षमताको तनहुँ जलविद्युतकोे नदी फर्काउने, बाँध लगायतका पहिलो प्याकेजका संरचना (हेड वक्र्स) निर्माणका लागि इटालियन कम्पनी सिएमसी छनोट भएको थियो ।