चार वर्षमा पुनर्निर्माण प्राधिकरणको प्रगति ː ६१ प्रतिशत निजी घरहरुको पुनर्निर्माण सम्पन्न |
काठमाडौँ । भूकम्प गएको ४ वर्षपछि पूननिर्माण प्राधिकरणले पूनːनिर्माण सम्बन्धि तथ्यांक सार्वजनिक गरेको छ । यो अवधिमा भूकम्पले क्षति पुर्याएकामध्ये ६१ प्रतिशत निजी घरहरुको पुनर्निर्माण सम्पन्न भएको प्राधिकरणले जनाएको छ । सरकारी भवन तथा विद्यालयतर्फ भने ७० प्रतिशत पुनर्निर्माणको काम सम्पन्न भएको उसको दाबी छ ।
भूकम्पबाट क्षतिग्रस्त भएका ८ लाख १६ हजार ५ सय ६० वटा घरमध्ये ४ लाख ८२ हजार ३ सय २३ घरको पुनर्निर्माण पुरा भएको पुनर्निर्माण प्राधिकरणको पछिल्लो तथ्यांकले देखाएको छ । पूनर्निर्माण पूरा भएका घरमध्ये ५६ हजार ३ सय ८२ घरहरुले पुर्निनर्माण पुरा भएको प्रमाणपत्र समेत लिइसकेका छन् ।
२०७२ साल बैशाख १२ गतेको ७।८ रेक्टर स्केलको भूकम्प र बैशाख २९ गतेको ७।३ रेक्टर स्केलको भूकम्पले ३१ जिल्लालाई प्रभावित पारेको थियो । ति जिल्लामध्ये १४ वटा जिल्ला अतिप्रभावित भएका थिए भने अन्य १७ वटा जिल्ला कमप्रभावित भएका थिए ।
प्राधिकरण अन्तर्गत ८ लाख १७ हजार निजी घर पुनर्निर्माण, ७० हजार घरको प्रवलीकरण, ७ हजार ५ सय ५४ विद्यालय भवन पुनर्निर्माण, ८ सय ९१ पुरातात्विक तथा ऐतिहासिक र ८ सय ८३ सुरक्षा संयन्त्रको भवन निर्माणको काम पुनर्निर्माण प्राधिकरणको जिम्मामा रहेको थियो । भूकम्पका कारण क्षतिग्रस्त भएका ८ लाख १६ हजार ६ सय ८६ घरमध्ये ८८ प्रतिशत घर उच्च प्रभावित १४ जिल्लामा पर्दछन् ।
अति प्रभावित भएका सिन्धुपाल्चोक, धादिङ, काभ्रेपलान्चोक र नुवाकोट जिल्लाका प्रत्येक जिल्लामा १० देखि १२ प्रतिशत घर क्षति भएका थिए । सार्वजनिक पूर्वाधार संरचनाहरुमा १।१७ अर्ब अमेरिकी डलर बराबरको क्षतिपुगेको अनुमान गरिएको छ । यस मध्ये शिक्षा क्षेत्रमा ३१ करोड ३१ लाख ८० हजार डलर बराबरको क्षति भएको अनुमान गरिएको छ ।
सांस्कृति सम्पदातर्फ १९ करोड २२ लाख ३० हजार अमेरिकी डलर बराबरको क्षति अनुमान गरिएको छ ।भूकम्प कै कारण कृषि क्षेत्रमा २५ करोड ५० लाख डलर बराबरको क्षति भएको अनुमान गरिएको छ ।
अर्थशास्त्री रावत भूकम्पपछिको गतिविधिबाट आर्थिक वृद्धिमा योगदान पुगेको बताउँछन् । उनका अनुसार भूकम्पपछि पुर्निनर्माणका क्रियाकलापबाट नेपालको कूल गार्हस्थ उत्पादनको वृद्धिदर औसतमा ४.५ प्रतिशत विन्दूमा रहेको पाइएको छ । आर्थिक वर्ष २०७१∕७२ मा नेपालको कूल ग्राहस्थ उत्पादनको वृद्धिदर २.९७ प्रतिशतमा सिमित रहेको थियो । आर्थिक वर्ष २०७२∕७३ मा नेपालको वृद्धिदर ०.२० प्रतिशत माझरेको थियो ।
भूकम्पबाट कुल ७.०६ अर्ब अमेरिकी डलर बराबरको क्षतिभएको थियो । जसमध्ये ७६ प्रतिशत निजी क्षेत्रको सम्पत्ति नोक्सान भएको थियो । पुनर्निर्माणको समग्र पक्षमध्ये ४९ प्रतिशत हिस्सा आवास पुनर्निर्माणले ओगटेको छ । हाल ५ लाख ५० हजार मानिसहरु आवास पुननिर्माणमा काम गरिरहेका छन् ।