क्रिसमस ː सद्भाव र खुशीको पर्व |

अहिले विश्वभर नै क्रिसमसको रौनक छाएको छ । मुख्यतः ईशाई धर्मावलम्बीहरूले खुशीयाली, उपहार र शुभकामना साटासाट गर्ने यो पर्व पछिल्लो समय नेपालमा पनि लोकप्रिय हुँदै गएको छ । यहाँका सबैजसो समुदायले समेत आ–आफ्नो तरीकाअनुसार यसलाई मनाउँछन् । शहर बजारमा एक हप्ताअघि नै यस पर्वमा प्रयोग हुने क्रिसमस ट्री, मिठाई, उपहारलगायत सरसामग्री किन्नेहरूको बढेको थियो ।
क्रिसमस ईशाई धर्मावलम्बीको सबैभन्दा ठूलो पर्व हो । यो पर्वमा साण्टाक्लज आएर बालबालिकालाई खुशी पार्नुका साथै घण्टी बजाएर उपहार पनि दिइन्छ । मानिसले घरघरमा क्रिसमस ट्री सजाउनुका साथै विभिन्न परिकार बनाएर खाने गर्छन् । विशेषगरी अमेरिकी तथा यूरोपेली मुलुकमा क्रिसमस भव्यरूपले मनाइन्छ । किनकि, यो येशुको जन्मदिन पनि हो । यो पर्व मनाउने आफ्नै रीतिरिवाज र परम्परा छ । यस्ता परम्परा देश र भूगोलअनुसार फरक हुन्छन् । क्रिसमसका मुख्य चलन तथा विशेषताबारे मदन लामिछानेले तयार पारेको एक सामग्री ː
वेबबड क्रिसमस ट्री

यो परम्परा यूक्रेनमा बढी प्रसिद्ध छ । भनिन्छ, एकपटक एक गरीब महिलासँग क्रिसमस ट्री सजाउन पैसा थिएन । जब उसको बच्चाले बिहान क्रिसमस ट्री देख्यो, त्यो पूरै वेबले ढाकिएको थियो, जुन सुनौलो रङ तथा चाँदीजस्तै चम्किरहेको थियो ।
विशेष परिकार

क्रिसमसका बेला संसारभर विशेष परिकार बनाउने गरिन्छ । स्मोक्ड टर्की, फ्रुअ केक, जेली पुडिङलगायत परिकार यो वर्षका लागि प्रसिद्ध छन् । यस्तै, यो समयमा टुररान नामक परिकार पनि बनाइन्छ । अण्डा, बदाम, चिनी तथा महबाट यो स्वादिष्ट परिकार बन्छ । यो १६औं शताब्दीमै प्रचलनमा आएको परिकार हो । यद्यपि, यसलाई क्रिसमसका बेला मात्र बनाउने गरिन्छ ।
उपहार आदान–प्रदान

क्रिसमसका बेला साण्टाक्लजले सबै बालबालिकालाई उपहार दिने चलन छ । साथै, यो पर्वमा नजिकका नातेदार तथा छिमेकीले पनि उपहार आदान–प्रदान गर्छन् । यस चलनले मानिसहरूबीच आापसी भाइचारा तथा प्रेम बढाउँछ ।
क्रिसमसको सजावट

आफ्नो क्रिसमस ट्रीलाई परिवारका सदस्य मिलेर सजाउने चलन छ । सबैले रमाइलो र उत्साहका साथ क्रिसमस ट्रीको सजावट गर्छन् । क्रिसमसका बेला सजाइएको ट्रीले वरपरको वातावरण नै मनोरम बनाउने गर्छ ।
रिङ्गिङ बेल्स

रिङ्गिङ बेल्स पनि क्रिसमसको पुरानो चलन हो । क्रिसमसको दिन घण्टी बजाउने गरिन्छ । यो जाडोको दिन सूर्यको प्रकाशले सबैलाई उत्तिकै न्यानो र ज्योति प्रदान गरेजस्तै सबैलाई भलोको सन्देश दिन घण्टी बजाइन्छ । यसले मानिसमा सधैंभरि प्रेम, आशा र उल्लास बनिरहने मान्यता छ । यस्तै, सबै मानिसमा सधैं खुशियाली रहिरहोस् भन्ने कामना गरी यो बेल बजाउने गरिन्छ ।
परम्परागत भोजन

क्रिसमसका बेला हरेक देशमा अलग–अलग परिकार बनाउने गरिन्छ । जस्तै– पोल्याण्डमा बिगिलला बनाइन्छ, जसले वर्षभरको उल्लास प्रदर्शन गर्छ । साथै, इटलीमा सातओटा माछाको परिकार बनाउने चलन छ । यसले उनीहरूको घरमा सुख तथा समृद्घि ल्याउने विश्वास गरिन्छ ।