क्रिसमसका तीन रङको अर्थ |
क्रिसमसको सजावटमा विशेषगरी तीन रङको प्रयोग गरिन्छ । यी रङविना क्रिसमसको सजावट अधुरो हुन्छ । क्रिसमसमा रातो, हरियो र सुनौलो रङको खास महत्व हुन्छ । यी रङ क्रिसमसको प्रतीकात्मक रूपमा रहेका हुन्छन् । साथै, यसमा गहिरो अर्थ पनि लुकेको हुन्छ । क्रिसमस केही दिनपछि नै आउँदै छ । त्यसैले, धेरै मानिस यसको सजावटमा व्यस्त छन् । यो अवसरमा बालबालिकाहरू पनि सजावटमा रमाउँछन् । यी तीन रङबारे जिसस क्राइष्टले तीन शिक्षा दिएका छन्, जुन सङ्क्षेपमा यहाँ प्रस्तुत गरिएको छ ː
रातो
यो रङ येशुको रगतको प्रतीक हो । साथै, यो रङले सबै मानिसमा उनको अपूर्व प्रेमको सङ्केत पनि गर्छ । उनले सबैलाई पनि आफ्नो छोरासरह मान्नुका साथै विनाशर्त माया गर्थे । रातो रङले मानवता पनि दर्शाउँछ । यसले खुशी प्रदान गर्ने विश्वास गरिन्छ ।
हरियो
हरियो रङले रूखबिरुवालाई सम्बोधन गर्छ । रूखबिरुवाले यति धेरै जाडोमा पनि आफ्नो रङ जस्ताको तस्तै राख्दछन् । ईशाई धर्ममा हरियो रङलाई प्रभु येशुको शाश्वत जीवनको प्रतीक मानिन्छ । येशुलाई जबरजस्ती मारिएको भए पनि आज पनि उनी आफ्ना अनुयायीको मनमा जिउँदै छन् भाव यसले बुझाउँछ । त्यसैले, हरियो रङलाई जीवनको प्रतीक मानिएको हो ।
सुनौलो
सुनौलो रङको अर्थ हुन्छ, कसैलाई उपहार दिनु । येशुको जन्म हुँदा आएका राजाले उनलाई सुन उपहार दिएका थिए । त्यस्तै, भगवान्ले गरीब मरियमलाई आफ्नो छोरा जन्म दिन छनोट गरे । मरियम तथा युसुफले येशुलाई बचाउन सबै बाधाको सामना गरे । यसबाट के सिद्घ हुन्छ भने भगवान्को अगाडि सबै समान छन् । यो एउटा उपहार थियो, जसलाई भगवान्ले मानव जातिका लागि दिएका थिए ।
प्रस्तुतीः मदन लामिछाने