धनुषा चेम्बर अफ कमर्सबाट दाउरा तथा कम्वल वितरण |
धनुषा । धनुषामा लागेको सितलहर र जाडोले प्रभावित विपन्न र असाहाय वर्गलाई धनुषा चेम्बर अफ कमर्सले दाउरा तथा कम्वल वितरण गरेको छ ।
जनकपुरधाम स्थित विभिन्न चौंकहरुमा ८० क्वीन्टन दाउरा र १०१ थान कम्बल वितरण गरेको धनुषा चेम्बर अफ कमर्सका अध्यक्ष बिजय साहले जानकारी दिए । यस बर्षको सितलहर तथा ठण्डीले जनकपुर धामका विपन्न र असाहाय वर्गलाई समस्यामा पारेको छ ।
राहत वितरण कार्यक्रम जनकपुर उप महानगरपालिकाका प्रमुख लाल किशोर साहको प्रमुख आतिथ्यतामा भएको थियो । उक्त वितरण समारोहमा धनुषा चेम्बरका अध्यक्ष विजय साहले विपतमा परेका हरेक नेपालीलाई राहत उपलब्ध गराउनु हाम्रो कर्तब्य रहेको बताए । मेयर लाल किशोरले सितलहर र जोडेले पिडित यस स्थानकाका स्थानियलाई सहयोग गर्नुभएकोमा चेम्बरलाई धन्यवाद दिदै आगामी दिनमा हुन सक्ने समस्याको न्यूनिकरणका लागि चेम्बरको साथ हुनेमा आशा व्यक्त गरे ।
ब्यस्त समयका बाबजुद राहत वितरण कार्यमा सरिक हुनु भएकोमा महासचिव कृष्ण साहले मेयर लगायत उपस्थित सबैलाई धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख र प्रतिनिधि समेतको उपस्थिति रहेको थियो ।
धनुषा चेम्बर अफ कमर्सले उद्यमी व्यवसायी तथा उपभोक्ताहरुमा प्राकृतिक प्रकोपप्रति सजग, सचेत र जिम्मेवार रही सुरक्षित उपाय अवलम्बन गर्न अपिल समेत गरेको छ ।