पेप्सी उत्पादकविरुद्ध १ अर्ब २९ करोड कर छलीको मुद्दा |
काठमाडौं। राजस्व अनुसन्धान विभागले पेप्सी उत्पादन गर्ने कम्पनी बरुण वेभरेज प्रालि विरुद्ध राजस्व छलेको आरोपमा एक अर्ब ९४ करोडको मुद्दा दायर गरेको छ। विभागले नक्कली भ्याट विल विरुद्धको अहिलेसम्मकै ठूलो मुद्दा दायर गरेको हो। विभागले अनुसन्धान गर्दा नक्कली भ्याट विलमार्फत ६४ करोड ९६ लाख रुपैयाँ राजस्व छली गरेको भेटिएको थियो।
विभागले बिहीबार पत्रकार सम्मेलन गर्दै महानिर्देशक दीर्घराज मैनालीले राजस्व ठगीको मुद्दा हालेको जानकारी दिएका हुन्। विभागले कम्पनीका सञ्चालकहरु अमित गुप्ता, रविकान्त जयपुरियासहित सात जनामाथि विगो, जरिवाना र जेल सजायको दावी गर्दै मुद्दा हालेको हो।
विभागले ६४ करोड ९६ लाख रुपैयाँको विगो दावी गरेको छ। विगोको र यसको दोब्बर जरिवाना १ अर्ब २९ करोड ९२ लाख गरी कुल १ अर्ब ९४ करोड ८८ लाख रुपैयाँ दावी गर्दै मुद्दा हालेको हो।
बरुण वेभरेजले झुट्टा कारोबार मनसाय राखी नक्कली विजक तयार पार्ने ब्यक्तिसँग मिलेर वास्तविक रुपमा मालबस्तु नै खरीद नगरी झुट्टा तथा नक्कली कर विजक तयार पार्ने प्रयोजनका लागि योजनाबद्ध रुपमा दर्ता गरिएका फर्महरुबाट जारी गरेका बिजक खरीद गरेर राजस्व छलेको विभागको आरोप छ।
बरुण वेभरेज प्रालि र यसका पूर्व तथा वर्तमान संचालकहरुबाट विभागले एक अर्ब ६० करोडको बैंक जमानत लिएको छ। विभागले गरेको अनुसन्धानबाट वरुण वेभरेजले आर्थिक वर्ष २०७०/०७१ देखि २०७५/०७६ सम्ममा झुटा मूल्य अभिवृद्धि करको कारोबारबाट भ्याट करतर्फ २५ करोड ३४ लाख र आयकर तर्फ लाभांश समेत गरी ३९ करोड ६१ लाख गरी कूल ६४ करोड ९६ लाख राजस्व छली गरेको देखिएको छ।
विभागले संचालकहरू अमित गुप्ता, रविकान्त जयपुरिया, रोहित कोहली, प्रविन कुमार अग्रवाल, विनोद सिंह भनिने विनोदकुमार सिंह र अशोक कुमारलाई मुद्दा हालिएको छ। उनीहरुबाट यो रकम असुलसहित तीन बर्ष कैदको माग गर्दै मुद्दा हालिएको हो।