अवैध ढंगले विदेशी च्यानल प्रसारण गर्नेको लाइसेन्स रद्द गर्दै सरककार |

काठमाडौं । सरकारले अनधिकृत रूपमा विदेश च्यानल प्रसारण गर्ने डिजिटल केबल सञ्चालकहरूको लाइसेन्स रद्द गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले राज्यको राजस्वमा करोडौं घाटा हुने गरी अनधिकृत ढंगले च्यालनहरू प्रसारण गर्नेमाथि कडा कारबाही गर्न निर्देशन दिएपछि सूचना विभागले यस्तो प्रक्रिया अघि बढाएको हो ।
क्लिन फिड लागू गर्ने सन्दर्भमा विदेशी च्यानलहरू अवैध डीटीएचको प्रयोगबाट ग्राहक तथा सरकारलाई समेत ठगी भइरहेको गुनासो आएपछि विभागले डिभाइन स्ट्रिम नेटवर्क प्रालिलाई एक साताको अल्टिमेटम दिएको छ । मंसिर १७ गते विभागले डिभाइन नेटवर्क (मेरो टिभी)लाई दिएको लिखित चेतावनीमा अवैध प्रसारण नरोके कानूनबमोजिम इजाजतपत्र रद्द गर्ने भनिएको छ ।
सो नेटवर्कले गत वर्ष फागुन महिनादेखि नै सोनी पिक्सर्च नेटवर्क इण्डिया, इण्डियाकास्ट मिडिया डिष्ट्रिब्युसन र डिस्कभरी नेटवर्क एसिया प्यासिफिकअन्तर्गत विभिन्न सशुल्क च्यानलहरू अवैध डीटीएचमार्फत प्रसारण गरेको अनुगमनहरूमा पाइएको विभागले जनाएको छ । ती च्यानलको आधिकारिक कारोबार डिजिटल सिस्टम अफ नेपाल (डीएसन)ले पाएको छ ।
ती सम्पूर्ण च्यानलहरू डिजिटल केबल नेटवर्कबाट मात्र प्रसारण गर्नुपर्नेमा अवैध ढंगले प्रसारण गर्दा राज्यलाई एक वर्षमा करोडौं राजस्व घाटा भएको र डीएसनलाई सो मेरो टिभीले तिर्नुपर्ने बक्यौतासमेत नतिरेको भन्दै विभागमा उजुरी परेको थियो ।
सो उजुरीमाथि छानबिन र अनुगमन गर्दा अवैध रूपमा प्रसारण गरिएको पाइएकाले पटक पटक बन्द गर्न चेतावनी दिँदा अटेरी गरेको विभागले जनाएको छ । करिब ५ करोड बक्यौता रकम नतिरेपछि डीएसएनले सिग्नल बन्द गरिदिएको छ ।
राष्ट्रिय प्रसारण नियमावली अनुसार, सर्तबमोजिम काम गर्ने मौका दिँदा पनि अटेर गरेमा मन्त्रालयले त्यस्तो प्रसारण संस्थाको इजाजतपत्र रद्द गर्न सक्ने प्रावधान छ । सोही नियम अनुसार मेरो टिभीले डीएसएनसँगको सम्झौताबमोजिम काम नगरेमा लाइसेन्स रद्द गर्ने प्रक्रिया अघि बढाइएको हो ।
डिभाइन नेटवर्क र स्काई केबल मर्ज भएदेखि सो संस्थाले विदेशी च्यानल चोरी गरेर चलाइरहेको र डीएसएनसँगको सम्झौताबमोजिम काम नगरेको विभागले जनाएको छ । विभागले जिल्ला प्रशासन कार्यालयमार्फत अवैध च्यानल प्रसारण गर्ने संस्थाका उपकरणहरू जफत गर्ने प्रक्रियासमेत अघि बढाएको छ ।
सोनी, जीलगायतका अधिकांश भारतीय टीभी च्यानलहरूको आधिकारिक बिक्रेता नेपालमा डीएसन रहेको भन्दै ती कम्पनीले सरकारलाई पत्राचार गरेपछि सरकारले कारबाही अघि बढाएको हो । सरकारले क्लिन फिड लागू गर्दै गर्दा अवैध च्यानल प्रसारण रोक्नु पहिलो दायित्व भएको विभागको भनाइ छ ।
यसअघि नै मन्त्री बास्कोटाले राज्यलाई ठग्ने र अवैध ढंगले प्रसारण गर्नेमाथि कानूनबमोजिम कारबाही गर्न निर्देशन दिइसकेका छन् । सरकार क्लिन फिड लागू गर्न अघि बढिसकेको र राज्यलाई घाटा हुने कुनै पनि काम गर्ने संस्थामाथि नरम नीति लिन नसकिने उनले बताएका छन् ।