गौरिकाले नयाँ कीर्तिमान ː चार स्वर्णसहित ९ पदक |
काठमाडौं । कीर्तिमानी जलपरी गौरिका सिंह दक्षिण एसियाली खेलकुद (साग)मा सर्वा्धिक सफल खेलाडी बनेकी छन् । उनले १३औं सागमा चार स्वर्णसहित ९ पदक जितेकी छिन् । उनले ९ स्पर्धामा भाग लिएकी थिइन् र कुनैमा पनि पदकविहीन हुन परेन ।
पौडीको अन्तिम दिन उनले १०० मिटर फ्री स्टाइलमा स्वर्ण पदक जितिन् । उनले निर्धा्रित दुरी ५८.१३ सेकेन्डमा पूरा गरिन् । ५८.१५ सेकेन्डमा दुरी पार गरेकी भारतीय शिवांगी शर्माले रजत पदक पाएकी छन् । निकै सानो अन्तरले स्वर्ण जितेकी गौरिकाले भनिन्, ‘हेर्नै डर लाग्यो म जितेको हो कि उ जितेको ।’
सोमबार नै ४०० मिटर मिड्ले रिलेमा गौरिका संलग्न नेपाली टोलीले कांस्य पदक जितेको छ ।
सागमा ४ स्वर्ण पदक जितेर तेक्वान्दो खेलाडी दीपक विष्टले सबैभन्दा धेरै स्वर्ण जितेको कीर्तिमान बनाएका थिए । गौरिकाले दीपकसँग कीर्तिमान बराबरी गरेकी छन् ।
दीपकले चारवटा सागबाट चार स्वर्ण जितेका थिए भने गौरिकाले एकै सागमा चार स्वर्ण जितेकी हुन् । १३ औं सागमा गौरिकाले चार स्वर्ण, दुई रजत र तीन कास्य पदक जितेकी छन् ।