छोराले गरे वृद्ध बाबुआमाको हत्या |
भैरहवा । रुपन्देहीमा एक युवाले आफ्नै बाबुआमाको हत्या गरेका छन् । रुपन्देहीको ओमसतिया गाउँपालिका ४ बालापुरस्थित आफ्नै घरको कोठाभित्र छोराले बृद्ध बाबुआमाको हत्या गरेका हुन् ।
ओमसतिया ४ बालापुरका २८ वर्षीय गोरख यादवले आफ्नै घरमा धारिलो हतियार प्रहार गरी बाबुआमाको हत्या गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार कान्छो छोरा गोरखले शुक्रबार बिहान आफ्नै घरको कोठाभित्र ७२ वर्षीय बुबा रामनारायण यादव र ७० वर्षीय आमा थगना यादवमाथि धारिलो हतियार प्रहार गरी हत्या गरेका थिए ।
हतियार प्रहारपछि रामनारायणको घटनास्थलमै मृत्यु भएको थियो भने आमा थगनाको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचारका क्रममा मृत्यु भएको रुपन्देही प्रहरीले जनाएको छ । बुवाआमाको हत्या गर्ने यादवको मानसिक सन्तुलन ठिक नभएको बताईएको छ । उनलाई प्रहरीले पक्राउ गरी घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।