सामाजिक सुरक्षा योजनामा सुधार आवश्यक छ ː चन्द्र ढकाल |
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयनको क्रममा केही व्यवहारिक जटिलता देखिए पनि एकले अर्काेलाई दोष दिएर नभई व्यवहारिक ढंगले सहमति र सहकार्य गर्दै अघि वढनुपर्ने बताएका छन् ।
राजधानीमा आयोजित औद्योगिक सम्बन्ध र श्रम नीति विषयक गोष्ठीलाई सम्बोधन गर्दै ढकालले श्रम ऐन र सामाजिक सुरक्षा ऐन निर्माण गर्न रोजगारदाता र ट्रेड युनियनहरुले लामो समय सहकार्य गरेको स्मरण गर्दै हाल यी महत्वपूर्ण कानुनको कार्यान्वयनको चरणमा रहेको बताए ।
‘श्रम सम्बन्ध विभिन्न आरोह अवरोह पार गर्दै हालको अवस्थामा आईपुगेको हो र विगतको असहज परिस्थिति र अप्ठेरोहरु पनि हामीले भोगेकोले आगामी दिनहरुलाई सहज बनाउँदै लैजानुपर्छ,’उनले भने ‘श्रम सम्बन्धलाई अझ प्रगाढ बनाउन कहाँ र कस्तो कानुनी र नीतिगत सुधार आवश्यक छ हामी संगै अघि वढन तयार छौ,।’
ढकालले भरपर्दाे श्रम सम्बन्ध विकासका लागि आवश्यक कानुन र नीतिमा सुधार गर्ने काममा आफूहरु लागि परेको पनि दावी गरे ।
‘परिवर्तनलाई आत्मसाथ गर्न सजिलो हुदैन, मुलुकमा थप लगानी आर्कषण गरी स्वदेशमै बढी भन्दा बढीलाई रोजगारीका अवसर प्रदान गर्नुपर्छ भन्ने मान्यता राखी हामिले काम गरिरहेका छौ । यसमा ट्रेड युनियनको तर्फबाट रचनात्मक एवं जिम्मेवारीपूर्ण भूमिका निर्वाह हुने हामीले अपेक्षा गरेका छौ,’ उनले भने ।
हाल मुलुकको औद्योगिक सम्बन्ध सहज अवस्थामा रहेको र श्रम विवादको संख्यामा कमी भइरहेको औद्योगिक क्षेत्रले महसुश गरेको ढकालले दावी गरे ।
औद्योगिक सम्बन्धका मुख्य पक्षहरु रोजगारदाता र ट्रेड युनियनको सोचाई र व्यवहारमा सकारात्मक परिवर्तनले नै श्रम तथा औद्योगिक सम्बन्ध वलियो र दिगो वनाउन सकिने उनले बताए ।
ढकालले रोजगारदाता र ट्रेड युनियनहरुले आर्थिक एवं सामाजिक विकासका सहयात्री र साझेदारको रुपमा आफ्नो भूमिका निर्वाह गर्दै आएका र आफूहरुले पनि यही रुपमा व्यवहार गरिरहेको बताए ।