भन्सार दरको प्रभाव ː मोबाइल आयात १८ प्रतिशतले बढ्यो |
काठमाडौं । चालू आर्थिक वर्ष २०७६∕०७७ को ४ महिनामा मोबाइल आयात बढेको छ । सरकारले भन्सार दर घटाएपछि मोबाइल आयात बढेको मोबाइल व्यवसायी सङ्घका अध्यक्ष पुर्शोत्तम बस्नेत बताउँछन् ।
‘पहिला भन्सार दर ५ प्रतिशत थियो। चालू आवबाट २.५ झरेको छ । यसले आयात बढाएको छ’, उनले भने, ‘बैङ्कले लोन नदिएकाले अझ नयाँ ब्राण्ड भने भित्रिन सकेका छैनन् ।’
चालू आवको साउनदेखि कात्तिकसम्म विभिन्न देशबाट २० लाख मोबाइल सेट भित्रिएको तथ्याङ्कले देखाएको छ । सो परिमाणको मोबाइल सेट आयातको लागि देशबाट झण्डै ९ अर्ब बाहिरिएको छ ।
यो गत आव २०७५∕०७६ को सोही अवधिको तुलनामा १८ प्रतिशतले बढी हो । गत साउनदेखि कात्तिकसम्म १६ लाख ३४ हजार १ सय ८४ मोबाइल सेट नेपाली बजारमा भित्रिएको भन्सार विभागको तथ्याङ्कले देखाएको छ । सो परिमाणको मोबाइल सेट आयातको लागि देशबाट झण्डै ८ अर्ब बाहिरिएको छ ।
नेपाली बजारमा विश्वका विभिन्न देशबाट मोबाइल भित्रिने गरेको छ । ती मध्ये चीन, भेइतनाम, भारत लगायतका देशबाट बढी फोन आउने विभागको तथ्याङ्क छ ।
नेपाली बजारमा एक समयमा चर्चित रहेको इंन्डियन ब्राण्डका फोन अहिले विस्थापित नै भएको उनी बताउँछन् । अनर, रियलमी अहिले भित्रिएका नयाँ ब्राण्ड हुन् ।
‘झिटी, गुण्टा आदेश २०७५’ ले पनि मोबाइलको बजारलाई व्यवस्थित गरेको छ । सो व्यवस्था अनुसार वैदेशिक यात्रामा गएकाले १ सेट मात्र मोबाइल ल्याउन पाइने छ ।
त्यसको तथ्याङ्क विभागमा उपलब्ध नभएको विभागले बताएको छ ।
दुई आर्थिक वर्षको पहिलो ४ महिनामा भएको मोबाइल आयातको अवस्था (ओटामा)