विश्व वातावरण दिवसमा वृक्षरोपण |
तनहुँ (अस) । विश्व वातावरण दिवस २०१८ को अवसर पारेर जिल्ला वन कार्यालय र व्यास नगरपालिका तनहुँको संयुक्त आयोजनामा वृक्षरोपण कार्यक्रम सम्पन्न गरियो । उक्त कार्यक्रमको जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले उद्घाटन गरेका हुन् ।
जलवायु परिवर्तनका लागि नेपाली युवाहरूको सञ्जाल (एनवाईसीए) को सहआयोजना रहेको उक्त वृक्षरोपण कार्यक्रममा करीब ६० ओटा बिरुवा रोपिएको थियो । कपुर र म्याङ्गोस्टीकका ती बिरुवाहरू व्यास– ३, दमौलीस्थित निमार्णाधीन पार्कमा रोपिएको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने बताए ।
सो अवसरमा जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले व्यास नगरपालिकालाई सफा सुन्दर र हराभरा बनाउने अभियानमा सबै लाग्नुपर्नेमा जोड दिए । नगर प्रमुख न्यौपानेले वृक्षरोपण गर्नु मात्र ठूलो कुरा नभएको चर्चा गर्दै रोपिएका बिरुवाहरुको संरक्षण गरिनुपर्ने बताए ।