बुल्दी सरसफाइ अभियान शुभारम्भ |
तनहुँ (आपास) । जलवायु परिवर्तनका लागि नेपाली युवाहरुको सञ्जाल (एनवाईसीए) तनहुँ शाखाले विश्व वातावरण दिवस २०१८ को अवसरमा व्यास–११ शेराबाट बुल्दी खोला सरसफाइ अभियान शुरु गर्यो । कार्यक्रमको शुभारम्भ व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले गरेका हुन् । संस्थाले जिल्ला वन कार्यालय तनहुँ, एनजीओ नेटवर्क तनहुँ, दमौली युनेस्को क्लब, जागौं युवा नेपाल, रोट¥याक्ट क्लब अफ दमौली, लियो क्लब अफ दमौलीलगायत संस्थाको सहयोग र व्यास नगरपालिकाको आतिथ्यतामा उक्त कार्यक्रम आयोजना गरेको हो ।
सो अवसरमा व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले जलीय पारिस्थतिक प्रणालीको संरक्षण र जैविक विविधता रक्षाका लागि खोलानाला सरसफाइ महत्वपूर्ण हुने बताए । उनले सरसफाइ सभ्यताको प्रतीक भएको बताउँदै यो अभियानलाई जनचेतनाका लागि मात्रै नभई कार्यमूलक बनाउनुपर्नेमा जोड दिए । त्यस्तै, जिल्ला वन अधिकृत अम्बिका पौडेलले आफनो सभ्यता, धर्म, संस्कृतिको संरक्षण र सम्बद्र्धन आफै गर्नुपर्ने बताइन् । यस्तो अभियानलाई निरन्तरता दिन सबैलाई उनका आग्रह थियो ।
त्यस अवसरमा एनवाईसीए तनहुँकी संयोजक सुनीता आचार्यले सरसफाइ कार्यक्रमलाई अभियानकै रूपमा निरन्तरता दिँदै बुल्दी खोलाको बहाव क्षेत्र व्यास–३ बुल्दी घाटसम्म सञ्चालन गर्ने जानकारी दिइन् । कार्यक्रममा विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थालगायत करीब २ सय जना स्थानीयको सहभागिता थियो ।