वर्ल्डलिंकले साग खेल हुने सबै ठाउँमा निːशुल्क वाईफाई दिने |
काठमाडौं । वर्ल्डलिंक कम्युनिकेशनले दक्षिण एशियाली खेलकुद (साग) हुने सबै रंगशालामा खेल अवधिभर उच्च गतिको इन्टरनेट निːशुल्क उपलब्ध गराउने भएको छ ।
प्रयोगकर्ताले आफ्नो मोबाइल नम्बरबाट लग(इन गरेर दैनिक एक जीबी डाटा दैनिक निःशुल्क प्रयोग गर्न पाउने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यसका लागि फेसबुकको प्लेटफर्म एक्स्प्रेस वाइफाइसँग सहकार्य गरिएको छ । काठमाडौं र पोखरामा डिसेम्बर १ देखि १० सम्म हुन गइरहेको १३ औं एशियाली खेलकुदमा २७ वटा विभिन्न खेलका प्रतियोगिता हुनेछन् ।
सागमा नेपाल, मालदिभ्स, भुटान, बंगलादेश, भारत, पाकिस्तान र श्रीलंका गरी सात देशका खेलाडीले भाग लिनेछन्। कम्पनीका अनुसार मुख्य खेल हुने स्थान दशरथ रंगशाला, त्रिपुरेश्वर कभर्ड हल, सातदोबाटो स्पोर्ट्स कम्प्लेक्स, आर्मी फिटनेस सेन्टर लगनखेल, पोखरा रंगशाला र पोखरा कभर्ड हलमा निःशुल्क वाइफाइ सुविधा उपलब्ध हुनेछ।