प्याजको मूल्य किलोकै २ सय ३० |
काठमाडौं । प्याजको मूल्य किलोको २ सय ३० पुगेको छ। काठमाडौं उपत्यकाको सबभन्दा ठूलो तरकारी बजार कालिमाटी फलफूल तथा तरकारी बजारमा रहेको मूल्य सूची हो ।
प्याजको मूल्य पछिल्लो समय लगातार बढिरहेको छ । गत साउनदेखि नेपाली बजारमा प्याजको भाउ बढ्न थालेको थियो । असारसम्ममा प्रतिकेजी ५० रुपैयाँभन्दा कम रहेको प्याजको मूल्य साउनमा ५५ रुपैयाँ पुग्यो ।
लगातार बढिरहेको प्याज असोजदेखि दोब्बरले बढेर सय रुपैयाँभन्दा माथि पुग्यो। कालिमाटी बजारमा सोमबारसम्म प्रतिकेजी खुद्रा प्याजको मूल्य अधिकतम दुई सय रहेकोमा मंगलबार ३० रुपैयाँले बढेको हो ।
यो सिजनमा प्याजको उत्पादन घटेपछि भारतीय बजारमा प्याजको मूल्य बढेको छ । नेपाली प्याजको बजार भारतीय उत्पादनमा भरपर्ने हुनाले त्यसको प्रत्यक्ष असर नेपाली बजारमा पनि देखिएको हो ।
भारत सरकारले भने प्याज निर्यातमा प्रतिबन्ध लगाएको छ । तर, नेपाली बजारमा भारतबाट प्याजको आयात भइरहेको छ ।