एक करोड ३२ लाख खर्चेर सामाखुशी–ग्रिनल्याण्ड सडकखण्ड कालोपत्र |
काठमाडौं । लामो समयदेखि अस्तव्यस्त रहेको सामाखुशी चोक मनोहर स्कूल हुँदै ग्रिनल्याण्डसम्मको सडकखण्ड कालोपत्र गरिएको छ । ढल व्यवस्थापन र मेलम्ची खानेपानी आयोजनाको पाइप बिच्छ्याउँदा अस्तव्यस्त उक्त सडक शनिबारदेखि कालोपत्र गरिएको हो ।
टोखा नगरपालिकाको रु एक करोड ३२ लाख खर्चमा उक्त सडक कालोपत्र गरिएको हो । काठमाडौँको उत्तरी क्षेत्र टोखा, झोर, शिवपुरी, ग्रान्डी अन्तर्रा्ष्ट्रिय अस्पताल तथा नुवाकोटको त्रिशूली जाने बाटो बिग्रँदा लाखौँ यात्रुहरुले समस्या भोग्नु परेको थियो ।
उक्त बाटोमा सामाखुशी यातायात, शिवपुरी यातायात, नुवाकोट जाने सवारी साधन र माइक्रोबस सञ्चालन हुँदै आएको छ । सामाखुसी ग्रिनल्यान्डको बाटो मर्मतसम्भार हुँदा सवारी साधन सामाखुशी चोकबाट वसुन्धरा चौकी धापासी हाइट हुँदै ग्रिनल्यान्ड जानुपर्ने बाध्यता रहेको थियो । महानगरीय ट्राफिक प्रहरी वृत्त नयाँ बसपार्कका प्रमुख, प्रहरी निरीक्षक लोकबहादुर विष्ट बाटो कालोपत्र भएसँगै ट्राफिक व्यवस्थापनमा सहजता आउने बताउँछन् ।
टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी ढल निर्माण र पानीको पाइप बिच्छ्याउँदा बाटोमा समस्या आए पनि बाटो कालोपत्रसँगै टोखाका जनतालाई आवतजावतमा सहजता आएको बताउँछन् । एक हप्तासम्म सबै सडक कालोपत्र गरिसक्ने नगरपालिकाले जनाएको छ । नगरप्रमुख अधिकारी नगरपालिकाले मोटरबाटोलाई विशेष प्राथमिकता दिएको बताउँछन् ।