थपियो विदेशी एयरलाइन्स, कुवेतको जजिरा एयरवेजको उडान शुरू |
काठमाडौं । नेपालको अन्तर्रा्ष्ट्रिय उडानमा अर्को विदेशी एयरलाइन्स थपिएको छ। कुवेतको जजिरा एयरवेजले मंसिर १ गतेदेखि काठमाडौंमा उडान सुरू गरेको हो ।
कुवेत इन्टरनेसनल एयरपोर्टबाट त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उडान गर्ने यो एयरलाइन्सले हप्तामा ४ उडान गर्ने छ । एयरलाइन्सको नेपालका लागि जेनरल सेल्स एजेन्ट रहेको सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसेजका अध्यक्ष रवीचन्द्र सिंहकाअनुसार जजिरा एयरवेजले हप्तामा ४ उडान गर्ने छ । अहिले विमानस्थल मर्मतको काम सकिएपछि ७ उडान गर्ने सिंहले जानकारी दिए ।
यसअघि कुवेतबाट वातानीय एयरलाइन्सले उडान शुरू गरे पनि निरन्तरता दिन सकेको थिएन । नेपाली कामदार जाने कुवेतको यो उडानले पर्यटक पनि ल्याउने सिंहको दाबी छ । ’यो हाइब्रिड बजेट एयरलाइन्स हो । यसले श्रम बजारसँगै पर्यटन बजारलाई पनि सेवा दिने छ,’ उनले भने ।
पछिल्लो समय कुवेत लगायतका देशबाट नेपालमा घुम्न आउनेहरूको संख्यामा बढोत्तरी भइरहेको र एयरलाइन्सको उडानले गर्दा बढ्ने उनको विश्वास छ । नेपालको हवाई भाडा महँगो भएका कारण अझै आकर्षित गर्न गाह्रो भएको उनले बताए । नेपालमा हवाई इन्धनको मूल्य विश्वबजारको तुलनामा ३० प्रतिशतसम्म महँगो भएको र विमानस्थलमा ग्राउन्ड ह्यान्डलिङ चार्ज पनि धेरे हुँदा भाडा महँगो पर्न जाने उनको अनुभव छ ।
सिचुवान एयरलाइन्सको पनि एजेन्सी लिएका सिंहले भने,’आकाशमा जहाज होल्ड हुन्छन् । जहाँ इन्धन खर्च हुन्छ । जुन अतिरिक्त हो । जसका कारण पनि यात्रुमा लोड पर्न जान्छ । यही कारण समस्या छ । नत्र कुवेत मात्र श्रम बजार पनि होइन’ उनले भने । सिंहले जजिराको उडानले लन्डनको बजारलाइ पनि केन्द्रमा राखेको जानकारी दिए । उनका अनुसार यो रुटबाट लन्डन जान ११ घण्टा जतिको समय लाग्ने र यसबाट सस्तो र छिटो पुगिने भएकाले त्यहाँका यात्रु पनि आकर्षित गर्न सकिने छ ।
योसँगै काठमाडौंमा अन्तरराष्ट्रिय उडान गर्ने विदेशी एयरलाइन्सको संख्या २५ पुगेको छ । नेपाली तीन एयरलाइन्सले विदेश उडान गरिरहेका छन् ।
हालसम्म नेपालको अन्तरराष्ट्रिय हवाई बजारको व्यापारमा ९० प्रतिशत हिस्सा विदेशी एयरलाइन्सको छ ।