नवनियुक्त ६ मन्त्री र ३ राज्यमन्त्रीले लिए शपथ |
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नवसनियुक्त मन्त्री तथा राज्यमन्त्रीहरुलाई शपथ गराएकी छन् । राष्ट्रपति भण्डारीले बिहीबार बिहान साढे ११ बजे नवनियुक्त ६ मन्त्री र ३ राज्यमन्त्रीलाई राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा पद तथा गोपनियताको शपथ गराएकी हुन् ।
मन्त्रीहरुलाई राष्ट्रपति भण्डारी र राज्यमन्त्रीले प्रधानमन्त्री केपी शर्मा ओलीले शपथ गराएका हुन् ।
बुधबार प्रधानमनत्री ओलीले केही मन्त्रिपरिषद हेरफेर गरेका थिए । प्रधानमन्त्री ओलीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्वाङ, संघीय मामिला तथा स्थानीय विकास मन्त्री हृदयश त्रिपाठी, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङ, कृषिमन्त्री घनश्याम भुसाल, उद्योगमन्त्री लेखराज भट्ट र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवलाई नियुक्त गरेका थिए ।
त्यस्तै मोती दुगडलाई उद्योग तथा वाणिज्य राज्यमन्त्री, रामबीर मानन्धरलाई सहरी विकास राज्यमन्त्री र नवराज रावतलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेका थिए। नवनियुक्त सबै मन्त्री र राज्यमन्त्रीले शपथ लिएका हुन् ।
प्रधानमन्त्री ओलीले मन्त्रीहरू रघुवीर महासेठ, लालबाबु पण्डित, थममाया थापा, चक्रपाणि खनाल, मातृका यादव र गोकर्ण विष्टलाई मन्त्रीबाट हटाइएका छन् ।
स्वास्थ्यमन्त्री उपेन्द्र यादवको जिम्मेवारी परिवर्तन गरी कानूनमन्त्री बनाइएको छ भने कानूनमन्त्री रहेका भानुभक्त ढकाललाई स्वास्थ्यमन्त्री बनाइएको छ ।
प्रधानमन्त्री ओलीले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, शिक्षामन्त्री गिरीराजमणि पोखरेल, उर्जामन्त्री वर्षमान पुन, सञ्चारमन्त्री गोकुल बास्कोटा, पर्यटनमन्त्री योगेश भट्टराई, अर्थमन्त्री युवराज खतिवडाको जिम्मेवारी यथावत राखेका छन् ।