सडक दुर्घटनामा मृत्यु हुनेहरुका सम्झनामा दीप प्रज्ज्वलन |
काठमाडौं । सडक दुर्घटनामा परी मृत्यु हुनेहरूको सम्झनामा मनाइदै आइएको ‘वल्र्ड डे अफ रिमबरेन्स’का अवसरमा राजधानीको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) अस्पतालमा दिप प्रज्ज्वलन गरिएको छ ।
संयुक्त राष्ट्र संघले सन् १९९५ देखि हरेक नोभेम्बर महिनाको पहिलो आइतबारलाई सडक दुर्घटनासम्बन्धी सचेतना दिवसका रूपमा ‘वल्र्ड डे अफ रिमबरेन्स’का रूपमा मनाउने घोषणा गरेको छ । सो अवसरमा सन् २०१० देखि हालसम्म विश्वभर सडक दुर्घटनामा मृत्यु भएका २० हजार ६७३ जनाको सम्झनामा सोही अंक उल्लेखित मैनबत्ती बालिएको थियो ।
नेपाल इन्जरी एसोसियसनको आह्वानमा नेपालमा पनि सडक दुर्घटनासम्बन्धी सचेतना जगाउन उक्त दिवस मनाइएको हो । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले पनि सडक दुर्घटनालाई पनि विश्वव्यापी गम्भीर स्वास्थ्य चुनौतीका रूपमा लिएको सन्दर्भमा यससम्बन्धी सचेतना जगाउन दिवस आयोजना गरिएको एसोसियसनका निर्देशक प्रा.डा. सुनिलकुमार जोशीले बताए ।
सडक दुर्घटनाका प्रभावितहरूका तर्फबाट सञ्चारकर्मी गजेन्द्र बुढाथोकीले नेपालमा सडक दुर्घटनाबाट वार्षिक २५०० देखि ३ हजार व्यक्तिको ज्यान जाने गरेको र वार्षिक १० देखि १५ हजार व्यक्तिहरू घाइते हुने गरेको तथ्य उल्लेख गर्दै यसको लागत जीवन पर्यन्त हुने भएको सडक सुरक्षामा ध्यान दिन आग्रह गरे ।
एसोसियनका रिसर्चर अनिष खड्काले नेपालमा सडक दुर्घटनाको ठूलो संख्या अभिलेखित नै हुने नगरेको बताउँदै सडक दुर्घटनाबाट हुने क्षति कम गर्न सरकार, चिकित्सक, स्वास्थ्यकर्मीहरू, ट्राफिक प्रहरीसहित समुदायको पनि उत्तिकै भूमिका हुने बताए ।