उच्च अदालतमा १५ न्यायाधीश नियुक्तिका लागि सिफारिस |
काठमाडौं । न्यायपरिषदले उच्च अदालतमा १५ न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको छ । बुधबार बसेको परिषद् बैठकले जिल्ला न्यायाधीशबाट ६ जना, महान्यायाधीवक्ता कार्यालयमा कार्यरत सहसचिवबाट १ जना र अधिवक्ताबाट ८ जनालाई उच्च अदालतमा सिफारिस गरेको हो ।
जिल्ला अदालतका न्यायाधीश किरण कुमार पोखरेल, मुरारीबाबु श्रेष्ठ,सुदर्शन राज पाण्डे, दीपेन्द्र अधिकारी, रमेशराज पोखरेल, नरिश्वर भण्डारीलाई परिषदले उच्च अदालत तानेको छ ।
न्यायाधीश किरण कुमार पोखरेललाई विराटनगर उच्च अदालत, श्रेष्ठलाई उच्च अदालत सुर्खेतको जुम्ला इजलास, पाण्डेलाई उच्च अदालत पोखराको बाग्लुङ इजलास, अधिकारीलाई उच्च अदालत जनकपुरको राजविराज इजलास, न्यायाधीश रमेश पोखरेललाई उच्च अदालत जनकपुरको वीरगञ्ज इजलास र भण्डारीलाई उच्च अदालत विराटनगरका लागि नियुक्ति सिफारिस गरिएको परिषदले जनाएको छ ।
महान्यायाधीवक्ता कार्यालयका सहन्यायाधीवक्ता गीताप्रसाद तिमिल्सिनालाई उच्च अदालत जनकपुरको राजविराज इजलासको न्यायाधीश मा नियुक्ति गर्ने गरि सिफारिस गरेको छ ।
अधिवक्ताबाट मिलन कुमार राईलाई उच्च अदालत दिपायल, राजुराम सिलवाललाई उच्च अदालत विराटनगरको ओखलढुंगा इजलास, मेरीना श्रेष्ठलाई उच्च अदालत तुलसीपुर, मिना गौतम सेढाईंलाई उच्च अदालत पाटन, र सोमकान्त मैनालाई उच्च अदालत विराटनगरको धनकुटा इजलासका लागि न्यायाधीश नियुक्ति गर्न सिफारिस गरिएको परिषदले जनाएको छ ।
तुलसीपुर उच्च अदालतको वुटवल इजलासका न्यायाधीश दयानाथ खरेलले मंसिर १५ मा अवकास पाएपछि देशबहादुर सार्कीलाई, उच्च अदालत पाटनका न्यायाधीश नरेन्द्र सिवाकोटीले मंसिर १६मा अवकास पाएपछि रेखा थापा पाण्डेलाई र उच्च अदालत पोखराका जगतबहादुर श्रेष्ठ मंसिर २१ मा अवकास पाएपछि किरण कुमारी गुप्तालाई नियुक्ति गर्ने गरी सिफारिस गरिएको छ ।
उनीहरूलाई प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले नियुक्त गरी सपथ खुवाउने छन् । त्यस्तै , उच्च अदालत विराटनगर इलाम इजलासका न्यायाधीश प्रकाशचन्द्र गजुरेललाई उच्च अदालत जनकपुरको राजविराज इजलास, उच्च अदालत तुलसीपुरका न्यायाधीश शिवनारायण यादवलाई उच्च अदालत विराटनगर इलाम इजलास, उच्च अदालत विराटनगरका न्यायाधीश विनोद शर्मालाई उच्च अदालत सुर्खेत, उच्च अदालत सुर्खेतका न्यायाधीश कृष्ण गिरीलाई उच्च अदालत जनकपुरको वीरगन्ज इजलास, उच्च अदालत सुर्खेतकै न्यायाधीश रमेश खत्रीलाई उच्च अदालत पोखरा, उच्च अदालत विराटनगरको इलाम इजलासका न्यायाधीश रवि शर्मालाई उच्च अदालत पाटनको हेटौडा इजलास, उच्च अदालतका न्यायाधीश जनक पाण्डेलाई उच्च अदालत जनकपुरको वीरगञ्ज इजलास र उच्च अदालत विराटनगर ओखलढुङ्गाका न्यायाधीश राजेश कुमार काफ्लेलाई उच्च अदालत तुलसीपुरको नेपालगञ्ज इजलासमा सरूवा गर्ने निर्णय पनि परिषदले गरेको छ।