२३ वर्षपछि लगानीकर्तालाई नेपाल बैंकको लाभांश, २५ प्रतिशत लाभांश घोषणा |
काठमाडौं । डुबेर उठेको सबैभन्दा पुरानो नेपाल बैंकले २३ वर्षपछि लगानीकर्तालाई लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट १५ प्रतिशत सेयर बोनस र १० प्रतिशत नगदसहित २५ प्रतिशत लाभांश घोषणा गरेको हो ।
केही वर्षयता बैंक नाफामा रहँदै आए पनि लाभांश भने २३ वर्षपछि मात्रै घोषणा भएको हो । बैंक टाट पल्टिएपछि १२ वर्षसम्म राष्ट्र बैंकले नै सम्हाल्यो ।
विगत ५ वर्षदेखि क्रमिक रुपमा बैंकको वित्तीय स्थिति सबल बन्दै गएको हो । तत्कालीन प्रमुख कार्यकारी देवेन्द्रप्रताप शाहले कुशल नेतृत्व प्रदान गर्दै बैंकलाई लाभांश बाँड्न सक्ने क्षमतामा पुर्याएका हुन् ।
शाहले बैंक सम्हाल्दा राष्ट्र बैंकले तोकेको पुँजी पर्याप्तता अनुपात समेत पुगेको थिएन । ‘मैले जिम्मा लिँदा पुँजी पर्याप्तता अनुपात साढे ४ प्रतिशत थियो, उनले भने, ‘११ प्रतिशतको सीमा पुर्याउन राष्ट्र बैंकको निर्देशनअनुरुप केही सम्पत्ति पनि बेच्यौँ ।’
उनको कार्यकाल सकिएपछि असोज १२ देखि कृष्ण अधिकारीले प्रमुख कार्यकारीका रुपमा रही बैंक सम्हाल्दै आएका छन् ।
९ अर्ब ८१ करोड चुक्ता पुँजी रहेको बैंकमा सरकारी स्वामित्व ५१ प्रतिशत छ भने ४९ प्रतिशत हिस्सा सर्वसाधारणको छ । कुनै बेला कुल कर्जामा खराब कर्जा नै आधाभन्दा बढी रहेको बैंकको अहिले २. ७५ प्रतिशतमा झरेको छ । यद्यपी बैंकले भने फेरि ओरालो यात्रा समातेको छ । यस आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले ५८ करोड १८ लाख रुपैयाँ नाफा कमाएको छ ।
जवकि अघिल्लो वर्षको यस अवधिमा ९१ करोड ३८ लाख कमाएको थियो । सबैजसो बैंकहरुले नाफा बढाउँदै लैजाँदा नेपाल बैंकको नाफा भने ३६ प्रतिशतले खस्किएको छ । यो त्रैमासमा मात्रै नाफा घटेको होइन, गत आर्थिक वर्षमा पनि समीक्षा अवधिको तुलनामा नाफा १८. ६९ प्रतिशतले घटेको थियो ।
आर्थिक वर्ष ०७४∕७५ मा ३ अर्ब २१ करोड खुद नाफा कमाएर ‘टप फाइभ’भित्र पर्न सफल भएको थियो। ०७५∕७६ मा उसको नाफा २ अर्ब ६१ करोडमा खुम्चियो ।
यस आवको पहिलो त्रैमासमा आउँदा नाफाका आधारमा बैंक ‘टप टेन’बाटै बाहिरिसक्यो । यसले गर्दा बैंकको खराव स्थिति पुनः दोहोरिने हो कि भन्ने शंका गर्ने ठाउँ उब्जिएको छ ।
बैंकको संचालन खर्च बढेको छ तर व्यवसाय भने बढ्न सकेको छैन। बैंकमा सर्वसाधारणको निक्षेप नै गत वर्षभन्दा ३ अर्बले घटेको छ । कर्जा प्रवाह सामान्य बढे पनि खुद व्याजवापत प्राप्त हुने आम्दानी भने ४ करोडले घटेको छ । बैंकको प्रतिसेयर आम्दानी ३७ बाट घटेर ३२ मा झरेको छ ।
बैंकको स्प्रेड दर ४. ४७ प्रतिशत छ । राष्ट्र बैंकले आगामी असार मसान्तसम्म यस्तो सीमा ४. ४० प्रतिशतसम्म झार्नुपर्ने व्यवस्था गरेको छ । व्यवसाय बढ्न नसकेको अवस्थामा आगामी दिनमा बैंकको नाफा अझ संकुचन हुन सक्नेछ ।