नयाँ ब्राण्डको पल्पी जुस बजारमा |
काठमाडौं (आपास) । चितवनको रत्ननगरमा उद्योग रहेको युनाइटेड वेभरेजले आफ्नो नयाँ उत्पादन नेपाली बजारमा ल्याएको छ । कम्पनीले पल्पी ब्राण्डको अर्को नयाँ जुस नेपाली बजारमा सार्वजनिक गरेको हो । उक्त जुसको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले सार्वजनिक गरेका हुन् ।
सो अवसरमा मन्त्री यादवले उद्योगपतिलाई नडराई उद्योगधन्दा सञ्चालन गर्न आग्रह गर्दै उद्योग सञ्चालनमा सहयोग गर्न सरकार तत्पर रहेको बताए । नेपाल उद्योग परिसङ्घका अध्यक्ष हरिभक्त शर्माले आयात निर्यातको नीतिलाई परिमार्जन गर्न मन्त्री यादवसमक्ष अनुरोध गरे । उनले विदेशी वस्तु सजिलैसँग नेपालमा ल्याएर विक्री गर्न पाइने तर नेपाली उत्पादनलाई विभिन्न मापदण्ड पु¥याउनुपर्ने व्यवस्थाले निर्यातलाई निरुत्साहित गरेको बताए ।
११ जनाको संयुक्त लगानीमा सञ्चालन भएको युनाइटेड वेभरेजमा २० करोड रुपैयाँ लगानी रहेको छ । उद्योगले विगत ५ वर्षदेखि पल्पी ब्राण्डमा आफ्ना उत्पादन विक्री गर्दै आएको छ ।