तरकारी थोक बजार असार मसान्तदेखि सञ्चालनमा आउँदै |
विराटनगर । मोरङको कटहरी–२ मा निर्माणाधीन तरकारी तथा फलफूल थोकबजार असारको अन्तिमदेखि सञ्चालनमा आउने भएको छ । १३ करोड रुपैयाँको लगानीमा स्थापना गर्न लागिएको उक्त थोक बजारको निर्माण कार्य अन्ति चरणमा पुगेको छ । उक्त थोकबजार विश्व बैङ्कको सहयोगमा व्यावसायिक कृषि तथा व्यापार आयोजनाको लगानीमा निर्माण भएको हो ।
विराटनगरको गुद्री बजारलाई विस्थापन गर्ने र सेवाग्राहीलाई एकै स्थानबाट सबै प्रकारका तरकारी तथा फलफूल सहज रूपमा उपलब्ध गराउने उद्देश्यले उक्त बजारको स्थापना गर्न लागिएको हो । निर्माण कम्पनीका प्रोजेक्ट म्यानेजर सचिन श्रेष्ठले उक्त थोक बजारको निर्माण कार्य ९५ प्रतिशत सम्पन्न भइसकेको जानकारी दिए ।
थोकबजारमा खुद्रा विक्री केन्द्र, होलसेल विक्री केन्द्र, कृषकका लागि बस्ने घर, क्याण्टिन, तरकारी राख्ने केन्द्र, फोहोरलाई जैविक मल बनाउने केन्द्र, म्यानेजर क्वार्टर, गार्ड क्वाटर, प्रशासनिक भवन रहने बताइएको छ ।