अमेरिकामा नेपाल भ्रमण वर्षको औपचारिक प्रचारप्रसारको सुरुवात |

काठमाडौं । संयुक्त राष्ट्र अमेरिकास्थित नेपलिज एशोसिएसन इन साउथ इस्ट अमेरिका (नासा) ले भ्रमण वर्ष २०२० प्रवर्द्धनात्मक कार्यक्रम शुरु गरेको छ ।
न्याय तथा कानुन मन्त्री भानुभक्त ढकालको सहभागितामा अमेरिकास्थित एटलान्टामा औपचारिक रुपमा कार्यक्रम शुरु भएको हो ।
नेपलिज एशोसिएसन अफ जर्जियाको सहयोगमा भएको कार्यक्रममा भ्रमण वर्ष २०२०को ब्यानर सार्वजनिक गर्नुका साथै भ्रमण वर्षको औपचारिक सुरुवात भएको नासाका अध्यक्ष विनय अर्यालले बताए ।
औपचारिक रुपमा सुरुवात गरिएको भ्रमण वर्ष २०२० प्रवर्धनात्मक कार्यक्रममा नेपाल सरकारको पूर्ण सहयोग रहने मन्त्री ढकालले आश्वासन दिए ।
’विदेशमा जन्मिएका दोस्रो पुस्तालाई नेपाल चिनाउन भ्रमण वर्षले मद्धत पुर्या उनेछ।’ मन्त्री ढकालले कार्यक्रममा भने ।कार्यक्रममा जर्जियाका सिनेटर सिनेटर स्टिभ हेन्सन र सिनेटर शेख रहमानको उपस्थिती रहेको विज्ञप्तिमा उल्लेख छ । कार्यक्रममा सिनेटर शेख रहमानले भ्रमण वर्ष २०२०मा नेपाल आउने घोषणा गरेको जनाइएको छ ।
’नेपालीहरुको विचमा आएर आफ्नो मन्तब्य राख्न पाउँदा खुसी लागेको छ । एटलान्टामा भ्रमण वर्ष मनाउन सिनेटमा प्रस्ताव लानेछौँ।’ रहमानले कार्यक्रममा भने ।
भ्रमण वर्ष अवधिभर नासाले नेपाली संस्थासँगको सहकार्यमा विभीन्न प्रवर्द्धनात्मक कार्यक्रम आयोजना गर्ने योजना रहेको नासाको पूर्व अध्यक्ष राजा घलेले बताए ।
आयोजकका अनुसार भ्रमण वर्ष प्रवर्द्धनकालागि एटलान्टास्थित हुलाक टिकट, चारवटा बसस्टप, नौवटा सार्वजनिक स्थल लगायत क्षेत्रमा भ्रमण वर्ष प्रतिबिम्बति तस्विर र तुलको प्रयोग गरिनेछ ।
’अमेरिकाको विभिन्न शहरहरुमा प्रचार प्रसार सामाग्री प्रदर्शन गर्दा अमेरिका भ्रमण वर्षको प्रवर्द्धन गर्न सकिनेछ।’ नासाका अध्यक्ष विनय अर्यालले भने ।
उनका अनुसार भ्रमण वर्ष प्रवर्द्धनका लागि पोष्टर, फेसबुक प्रोफाइल फ्रेम, भ्रमण वर्ष २०२० कार्यक्रम, संचारमाध्यममा टक सो, नेपाली खाना महोत्सव, मुभी सो लगायत विभीन्न प्रवर्द्धनात्मक कार्यक्रम शुरु गरिसकिएको छ ।