कामना सेवा विकास बैंकले ६.८५ नगद लाभांश दिने |
काठमाडौं । कामना सेवा विकास बैंकले शेयरधनीहरुलाई ६.८ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ ।
मंगलबार बसेको सञ्चलक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट कर प्रयोजन सहित १७ करोड २७ लाख रुपैयाँ लाभांश दिने निर्णय गरेको हो ।
बैंकले गत आर्थिक वर्षमा ३२ करोड ५४ लाख रुपैयाँ नाफा गरेको थियो । लाभांश वितरण योग्य नाफा भने २७ करोड ३८ लाख रुपैयाँ छ ।
बैंकले जगेडा कोष बलियो बनाउने रणनीतिका साथ केहि नगद लाभांश मात्रै दिएको हो । पूँजी दुई अर्ब ५४ करोड रुपैयाँ रहेको बैंकले प्रतिशेयर आम्दानी सुधार गर्न बोनस शेयरलाई यस वर्ष रोक लगाएको देखिन्छ । हाल बैंकको प्रतिशेयर आम्दानी १२ रुपैयाँ मात्रै छ ।
कामना र सेवा विकास बैंक गाभिएपछि बैंकले विगत तीन वर्षमा क्रमश १२, ९.५ र ६.५ प्रतिशत लाभांश दिएको छ । गत आर्थिक वर्षको नाफाबाट घोषणा भएको लाभांश नेपाल राष्ट्र बैंकबाट अनुमति पाए पछि साधारणसभा डाकेर पारित गर्ने छ ।