नेपाल इन्भेष्टमेन्ट बैंकको एक दशक यताकै न्युनतम लाभांश |
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले दशकयताकै न्युनतम लाभांस दिने घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट १०.५ प्रतिशत बोनस शेयर र ८.५ नगद लाभांस दिने भएको हो ।
बुधबार विहान बसेको सञ्चालक समितिको बैठकले एक अर्ब ३५ करोड रुपैयाँको बोनस शेयर र एक अर्ब ९ करोड रुपैयाँ नगद लाभांस दिने प्रस्ताव आगामी साधारणसभा पेश गर्ने निर्णय गरेको हो ।
बैंकले घोषणा गरेको लाभांस नेपाल राष्ट्र बैंकबाट अनुमति पाएपछि साधारणसभामा पेश गर्न पाइने छ । साधारणसभाले लाभांस पारित गरेसँगै शेयरधनीहरुले प्राप्त गर्न सक्ने छन्। बैंकले विगतका वर्षहरुमा ३० प्रतिशत भन्दा तल लाभांस घटाएको थिएन ।
बैंकको हालको चुक्त पूँजी १२ अर्ब ८६ करोड रुपैयाँ छ। बोनस शेयरपछि बैंकको पूँजी १४ अर्ब २२ करोड रुपैयाँ कायम हुनेछ । बैंकले विगतका वर्षहरुमा नगदभन्दा बोनस शेयरलाई प्राथमिकता दिँदै आएको छ । जसले गर्दा बैंकको पूँजी अन्य बाणिज्य बैंकहरुको भन्द धेरै छ ।
गत आर्थिक वर्षमा इन्भेष्टमेन्ट बैंकले तीन अर्ब ४१ करोड रुपैयाँ नाफा गरेको थियो । जसमा लाभांस बाँडन योग्य नाफा भने एक अर्ब ३९ करोड रुपैयाँ मात्रै थियो । अहिले घोषणा गरिएको दुई अर्ब ४४ करोड रुपैयाँ लाभांस पनि जगेडा कोषबाट वितरण गर्नु पर्ने हुन्छ ।