पुरानो बोइङ किन्नेलाई नेपाल एयरलाइन्सको ४४ प्रतिशत छुट |
काठमाडौं । नेपाल एयरलाइन्सले आफूसँग भएको बोइङ विक्रीका लागि तेस्रोपटक सूचना प्रकाशित गरेको छ । एयरलाइन्सले बोइङ किन्नेहरूलाई १५ दिनभित्र प्रस्ताव गर्न आह्वान गरेको हो ।
२७ वर्ष पुरानो १९० सिट क्षमताको बोइङ विक्री गर्न एयरलाइन्सले शुरू मूल्यांकनमा करिब आधा मूल्य घटाएको छ ।
परामर्शदाता नियुक्त गरेर जहाजको मूल्यांकनसहित एयरलाइन्सले गएको असारमा विश्वव्यापी टेन्डर आह्वान गरेको थियो । त्यसमा कोही पनि नआएपछि एयरलाइन्सले फेरि असोजमा टेन्डर प्रकाशित गरेको थियो ।
पछिल्लो टेन्डरमा पनि योग्यता पुगेको प्रस्ताव नआएपछि तेस्रो पटकको सूचना निकालिएको एयरलाइन्सका प्रवक्ता गणेशबहादुर चन्दले जानकारी दिए ।
एयरलाइन्सले यो पटकका लागि जहाजको न्यूनतम मूल्य ४८ करोड ७२ लाख रुपैयाँ (४२ लाख ५० हजार अमेरिकी डलर) तोकेको छ । प्रत्यक्ष सम्झौताबाट छिनोफानो हुने यो लिलामीमा जसले बढी कबोल गर्छ उसैले जहाज पाउने छ ।
बोइङ ७५७ जहाजमा २ ओटा रोल्सरोयसका इन्जिन छन् । योसँगै जहाजका लागि स्टक पाटपुर्जा पनि किन्नेले पाउने छ ।
सुरूमा एयरलाइन्सले जहाजको न्यूनतम मूल्यांकन ७६ लाख ७६ हजार अमेरिकी डलर हुने बताएको थियो। सोहीअनुसार पहिलो र दोस्रो टेन्डर पनि निकालिएको थियो। यो पटक शुरू मूल्यको ४४ प्रतिशत न्यूनतम मूल्य घटेको छ ।
पहिलेको न्यूनतम मूल्यभन्दा दुबैपटक धेरै न्यून प्रस्ताव आएका र अब पनि विक्री नभए जहाजको उडान योग्यता प्रमाणपत्र नै सकिने भएकाले मूल्य घटाइएको चन्दले जानकारी दिए ।
’यसअघि हामीले निकालेको टेन्डरमा त्यतिबेलाको न्यूनतम मूल्यभन्दा धेरै तल प्रस्ताव आएको थियो। अब पनि विक्री नगरे जहाजको उड्न पाउने साइकल सकिँदै छ । यस्तोमा हामीले यसअघि आएका प्रस्तावको उच्च मूल्यभन्दा केही माथि मूल्य राखेका छौ’ चन्दले भने ।
जहाज सन् २०२० को फेब्रुअरीसम्ममात्र उड्न सक्ने लाइफ भएकाले छिटो विक्री गर्नुपर्ने दबाबमा रहेकाले सिधै नेगोसिएसनमा गएको बताइएको छ ।