कालापानीबारे छलफल गर्न संसदीय समितिले प्रधानमन्त्रीलाई बोलायो |
काठमाडौं । भारतले जारी गरेको नयाँ नक्सामा नेपाली भूभाग परेको विषयमा छलफल गर्न संसदको राज्य व्यवस्था तथा सुशासन समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बोलाएको छ ।
सांसदहरुले भारतले जारी गरेको नयाँ नक्साबारे प्रधानमन्त्री ओलीसँग छलफलको माग गरेपछि सोमबार प्रधानमन्त्रीलाई समिति बैठकमा आमन्त्रण गरिएको समिति सचिवालयले जनाएको छ ।
भारतीय नयाँ नक्सामा नेपाली भूभाग (लिपुलेक, कालापानी) परेको भन्दै नेपालमा सर्वत्र विरोध भइरहेको छ । तर, भारतले नेपाली भूभाग नपरेको दाबी गर्दै आएको छ ।
यस विषयमा राज्य ब्यवस्था समितिले चासो देखाएको हो । समिति सदस्य एवं नेकपाकी सांसद पम्फा भुसालले नेपालको भूभागलाई आफ्नो देशको नयाँ नक्सामा भारतले समावेश गरेको विषयमा प्रधानमन्त्री ओलीसहित सम्बद्ध सरोकारवाला पक्षसँग समेत छलफल गरिने बताइन् ।
यस विषयमा छलफल गर्न प्रधानमन्त्री ओलीले शनिबार सर्वदलीय, सर्वपक्षीय बैठक बोलाएका थिए । सर्वदलीय बैठकले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली भूभाग भएको निष्कर्ष निकाल्दै नेपाली भूभाग फिर्ता ल्याउने पहल गर्न सरकारलाई आग्रह गरेको छ ।
अन्तरराष्ट्रिय सम्बन्ध समितिमा परराष्ट्रमन्त्रीलाई आमन्त्रण
यस्तै, प्रतिनिधिसभा, अन्तरराष्ट्रिय सम्बन्ध समितिले पनि भारतीय नयाँ नक्साका विषयमा उठेका प्रश्नबारे छलफल गर्न सोमबार परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीलाई बोलाएको छ ।
यसअघि पनि परराष्ट्र मन्त्रालयले विज्ञप्तिमार्फत भारतले जारी गरेको नयाँ नक्सा नेपाललाई अस्वीकार्य भएको बताइसकेको छ ।
तर, परराष्ट्र मन्त्रालयले भारतीय नयाँ नक्साका विषयमा जारी गरेको विज्ञप्तिमा प्रयोग भएका भाषा र हस्ताक्षरका सम्बन्धमा कतिपयले प्रश्न उठाएका छन् ।