तीनवटा अन्तरराष्ट्रिय गन्तब्यमा उडान शुरु गर्दै एनएसी, थप सातवटा देश पाइपलाइनमा |
काठमाडौं । नेपाल वायुसेवा निगमले सात वटा अन्तरराष्ट्रिय गन्तब्य थप्ने भएको छ । निगमले चीनको बेइजिङ, संघाई, बंगलादेशको ढाका, म्यानमार रंगुन, भियतनामको हानोइ, कम्बोडियाको नोनफेन, श्रीलंकाको कोलोम्बो लगायत सातवटा नयाँ गन्तब्यमा गर्ने भएको छ । बौद्ध धर्मावलम्बीलाई मध्यनजर गर्दै पर्यटन मन्त्रालयले हवाई सम्झौता गरे अनुसार निगमले ती क्षेत्रमा उडानको लागि प्रकृया अगाडि बढाएको हो ।
हाल कम्पनीले जापानको नारिता, चीनको बेइजिङ, ग्वान्जाओ, साउदीको रियाद, कोरियाको सिओल लगायतमा उडानका लागि प्रकृया थालिसकेको छ ।
चीन उडानका लागि चीन नागरिक उड्डयन प्राधिकरणले आउँदो डिसेम्बर पहिलो सातामा अडिटको लागि आउने जनाएको छ । अडिट पछि निगमले उडान शुरु गर्ने योजना बनाएको जनाएको छ ।
रियाद उडानको लागि जिएसए छनौंटको प्रकृया अन्तिम चरणमा पुगेको निगमले जनाएको छ । निगमका अनुसार जीएसए छनोट छि उडान प्रक्रिया शुरु गर्नेछ ।
नेपाल र भियतनामबीच दुईपक्षीय उडान सम्झौंता सन् २०१५ अक्टोबर २०मा भएको थियो। यो सम्झौंता अनुसार दुवै मुलुकले साताको २८ हजार सीट र वार्षिक एक लाख ४५ हजार छ सय सीट यात्रु ओसारपसार गर्न सक्नेछन् । दुवै मुलुकका एक भन्दा बढी वायुसेवा कम्पनीले उडान गर्न सक्ने सम्झौंतामा उल्लेख छ ।
यसैगरी सन् १९९८, ७ जुलाईमा चीन र नेपालबीच एक भन्दा बढी वायुसेवा कम्पनीले उडान गर्न पाउने सम्झौंता भएको थियो। सम्झौंता अनुसार दुवै मुलुकले साताको ११ हजार दुई सय सीट र वार्षिक पाँच लाख ८२ हजार चार सय सीट यात्रु ओसारपसार गर्न सक्नेछन् । यो सम्झौंता अनुसार नेपालले चीनको बेइजिङ, सांघाई, ल्हासा, ग्वान्जाओ, छेङ्दु र सियानमा उडान गर्न पाउने प्रावधान छ । चीन र्फ निगमले हालै मात्र ग्वान्जाओ उडान अनुमति प्रक्रियाको अन्तिम चरणमा पुगेको छ । निगमले अहिले सम्भावित अध्ययनका लागि चीनको सांघाई छनौंट गरेको छ ।
नेपाल र कम्बोडियाबीच भने सन् २०१८, २९ नोभेम्बरमा मात्र दुईपक्षीय हवाई सम्झौंता भएको हो । औपचारिक रुपमा सम्झौंता भएपनि दुवै मुलुकले पालना गर्नुपर्ने थप प्रावधान भने बनाउन बाँकी रहेको प्राधिकरणले बताएको छ ।
यसैगरी नेपाल र श्रीलंकाबीच सन् २००९, जनावरी २३ मा दुईपक्षीय हवाई सम्झौंता भइसकेको छ । सम्झौंता अनुसार साताको २८ सय र वार्षिक एक लाख ४५ हजार छ सय अकुपेन्सी कायम राख्न सकिने प्रावधान छ ।
बंगलादेश र नेपालबीच सन् २००५, २३ मे मा भएको दुईपक्षीय सम्झौंता अनुसार साताको सात हजार र वार्षिक तीन लाख ६४ हजार अकुपेन्सी कायम राख्न सकिने प्रावधान छ ।
सन् २००६, अप्रिल २१मा म्यान्मार र नेपालवीच भएको दुई पक्षीय हवाई सम्झौंता अनुसार साताको ५३ सय र वार्षिक दुई लाख ७५ हजार पाँच सय अकुपेन्सी कायम राख्न सकिने प्रावधान छ । नेपालले सन् १९६३ देखि अस्ट्रिया, बहराइन, क्रोएसिया, इजिप्ट लगायत ३९ वटा विभिन्न अन्तरराष्ट्रिय गन्तब्यसँग दुईपक्षीय वार्ता गरिसकेको छ । तर हाल नेपाली हवाई कम्पनीले केही अन्तरराष्ट्रिय गन्तब्यमा मात्र नियमित उडान गर्दै आएकों छ ।