सेनाले फास्ट ट्रयाकको नेतृत्व इन्जिनियरलाई नदिने |
काठमाडौं । नेपाली सेनाले काठमाडौं तराई–मधेश द्रुत मार्ग (फास्ट ट्रयाक) को जिम्मेवारी अब सेनाका इन्जिनियरले नपाउने भएका छन् ।
नेपाली सेनाको इन्जिनियर विभागका प्राविधिक सहायक रथी शरदलाल श्रेष्ठले आयोजनाको नेतृत्व गर्दै आएका थिए। यद्यपी श्रेष्ठलाई फास्ट ट्रयाकमा भएको छानबिनका क्रममा जिम्मेवारीबाट हटाइएको थियो। अहिले पनि श्रेष्ठ छानबिनकै क्रममा छन् ।
छानबिनबाट उनले सफाइ पाए भने पनि अब फास्ट ट्रयाकको नेतृत्व सेनाको इन्जिनियर विभागले गर्न पाउने छैन । नेपाली सेनाका इन्फेन्ट्रीतर्फका उपरथीले फास्ट ट्रयाकको आयोजना प्रमुख बन्ने सैनिक स्रोतले जनाएको छ ।
सैनिक मुख्यालयमा रहेको फास्ट ट्रयाकको कार्यालयमा समेत इन्फेन्ट्रीतर्फका अधिकृत बस्न थालेका छन् । ’फास्ट ट्रयाकको कामलाई प्रभावकारी बनाउन इन्फेन्ट्रीलाई पनि सहभागी गराइएको छ,’ सैनिक स्रोतले भन्यो, ’अब दुई तारे जर्नेलले आयोजनाको नेतृत्व गर्नुहुन्छ । प्राविधिक सैनिकले उहाँकै मातहतमा काम गर्छन् ।’
फास्ट ट्रयाकको आयोजनाको निर्देशक समितिमा पनि सेनाकै वरिष्ठ रथी प्रमुख रहन्छन् । पूर्वउपरथी योगेन्द्र खाँणले आयोजना प्रमुख रहेको बेलामा अनियमितता गरेको आरोपमा छानबिन भइरहेको छ । खाँण नेतृत्वमा रहेका बेलामा परामर्शदाता छनोटमा आफ्नो स्वार्थ अनुकूल काम गरेकाले सेनाले उनलाई तीन चरणको बयान लिएर छानबिन रिपोर्ट तयार पारेको छ । छानबिन रिपोर्ट प्रधानसेनापति पूर्णचन्द्र थापालाई बुझाइएको सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले बताए ।
यसअघि ६ वटा परामर्शदाता कम्पनी छनोट भएका थिए । तर त्यो प्रक्रिया रद्ध गरेर सेनाले फेरि परामर्शदाता मागेको छ। अहिले २२ वटा कम्पनीले निवेदन दिएका छन् । २२ वटाबाट ६ वटा छनोट गर्ने र ६ वटा मध्येबाट एउटा छनोट गरिने सैनिक प्रवक्ता पाण्डेले बताए ।
मंसिर १ गतेदेखि फास्ट ट्रयाकमा निर्माण हुने पुलका लागि टेन्डर आह्वान गरिने पाण्डेले बताए। सुरूमा नेपाली ठेकेदारलाई आह्वान गर्ने त्यसपछि मात्रै विदेशी कन्ट्रयाक्टरलाई आह्वान गर्ने सेनाको योजना छ । फास्ट ट्रयाकमा साना ठूला गरी ८७ वटा पुल बन्दैछन्। जसमध्ये विशेष प्रकृतिका पुल १६ वटा हुने छन् ।
सुरूङको लागि भने २०७७ को जेठदेखि मात्रै टेण्डर आह्वान गर्ने सेनाको योजना छ । तीन वटा सुरूङ बनाउने योजना रहेको छ भने सुरूङको दूरी साढे ५ किलोमिटर रहनेछ ।