रोगका कारण चितवनमा १ सय ५० हेक्टरको चैते धान सखाप | किसान सुकेको धान बोकेरे पुगे क्षतिपूर्ति माग्न
भरतपुर । चितवनका किसानहरू रोग लागेर आफूले लगाएको चैते धान नष्ट हुन थालेपछि सुकेको धान बोकेरै क्षतिपूर्तिका लागि कृषि विकास कार्यालयमा पुगेका छन् । चितवनको खैरहनी नगरपालिकामा लगाइएको झण्डै १ सय ५० हेक्टर धानबाली प्रभावित भएको हो । जिल्ला कृषि विकास कार्यालय, चितवनका अनुसार सबैभन्दा बढी नेट ब्लाष्ट त्यसपछि सिड ब्लाइज्ड र कतैकतै गबारो रोगसमेत देखिएको छ । कतिपय धान खेतमा रोग फैलिने क्रममा रहेको र ५०–६० हेक्टर क्षेत्रफलमा भने करीब ६० देखि ७० प्रतिशतसम्म धान नष्ट भइसकेको छ । यहाँ १ हेक्टरमा करीब ४ टन धान उत्पादन हुन्छ ।
कार्यालयका प्राविधिक सहायक विष्णुप्रसाद शर्माले रोग लागेर बाला सुकिसकेकाले केही गर्न नसकिने बताएका छन् । उनले रोग लाग्न थालेको र रोग लाग्ने सम्भावना भएका अन्य क्षेत्रमा विषादी हाल्नका लागि सिफारिश गरिएको बताएका छन् । जेठको दोस्रो साताबाट यहाँ रोग लाग्न शुरू भएको थियो । फागुनको तेस्रो हप्ताअघि रोपेको धानमा रोग देखिएको तर त्यसभन्दा पछि रोपिएको धानमा भने रोग नदेखिएको किसानले बताएका छन् । अहिले वडा नम्बर १२ मा समेत रोग फेलिन थालेको बताइएको छ ।
अहिलेसम्म वडा नम्बर १३ बाट क्षतिपूर्तिका लागि भनेर ५० भन्दा बढी किसानले निवेदन दिइसकेका छन् । कृषि कार्यालयले क्षतिपूर्ति दिन नसक्ने बताएपछि किसानहरू अहिले स्थानीय तहमा गुहार माग्दै पुगेका छन् । धानको बाला निस्कने बेलामा रोग देखिएपछि गुबो सुक्ने र बाला मर्ने मुख्य समस्या देखिएको छ । नेट ब्लाष्ट (मरुवा) रोग बढी देखिएको कृषि कार्यालयका अर्का प्राविधिक सहायक नोदनाथ लामिछाने बताउँछन् । चितवनमा करीब ५ हजार हेक्टरमा चैते धान र २९ हजार हेक्टर क्षेत्रफलमा चैते धान लगाइने गरेको छ ।