पहिलो पटक ऋणमा घर निर्माण गर्नेलाई धितोको ७० प्रतिशतसम्म ऋण, ब्याजको मासिक किस्ता नबढ्ने |
काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘फर्स्ट होम बायर’ का लागि ठूलै राहत प्याकेज ल्याएको छ । घरजग्गामा सुरुवातदेखि नै कडाइ गर्दै आएको राष्ट्र बैंकले शुक्रबार पुरानो नीति परिवर्तन गर्दै राहत प्याकेज घोषणा गरेको हो ।
घरजग्गा तथा रियलस्टेट कर्जा सम्बन्धि ब्यवस्थामा संशोधन गर्दै राष्ट्र बैंकले धितो मूल्यांकनको ७० प्रतिशतसम्म ऋण सुविधा पाइने ब्यवस्था गरेको हो ।
यसअघि काठमाडौंभित्र धितोको ५० र बाहिर ६० प्रतिशतसम्म ऋण पाइन्थ्यो । अब भने ७० प्रतिशतसम्म ऋण पाइन्छ । तर ऋणको आकार १ करोड ५० लाख रुपैयाँभन्दा बढि हुनु हुँदैन ।
यसमा एउटा सर्त भने छ । घर ३ हजार वर्ग्फिटभन्दा ठूलो हुनु हुँदैन र ऋणी आँफैले प्रयोग गर्नु पर्ने हुन्छ । यो सुविधा पाउनका लागि यसअघि ऋण नलिएको हुनु पर्छ ।
यो सुविधा लिने हो भने घरभाडालाई ऋणीले आम्दानीको स्रोतका रुपमा देखाउन पाउँदैन । नियमित किस्ता भुक्तानीमा पनि सहुलियत दिइएको छ । तर यसले भने ऋणीको आर्थिक भार भने बढ्ने छ ।
कर्जाको ब्याज दर बृद्धि भएमा पूर्व निर्धा्रित मासिक किस्ता बृद्धि नगरी कर्जा भुक्तानी ब्यवस्था मिलाउन राष्ट्र बैंकले भनेको छ । यसको अर्थ हो अहिले १५ बर्षको ऋण लिएर मासिक २० हजार किस्ता तिरिरहनु भएको छ । अब ब्याज बढ्यो भने ग्राहकले मासिक किस्ता २० हजार नै तिर्ने हो तर उसको भुक्तानी गर्ने समय भने १५ बर्षबाट बढ्ने छ । यसले मासिक किस्ता तिर्न सजिलो भए पनि दीर्घकालिन आर्थिक भार भने बढ्ने छ ।