अमेरिकन कुकुरले सुरूङभित्र लखेटदा सुसाइड भेस्ट पड्काएर मरे बग्दादी |
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतवार साँझ पत्रकार सम्मेलन गर्दै उत्तरी सिरियामा स्लामिक स्टेट (आईसीस)का प्रमुख अबु बकर अल बग्दादीलाई अमेरिकी कमान्डोहरूले मारेको जानकारी दिएका छन् ।
आइतबार दिउँसो बग्दादी मारिएको खबर सार्वजनिक भए पनि यसबारे साँझ ट्रम्पले आफैं जानकारी दिने राष्ट्रपति कार्यालय ह्वाइट हाउसले जनाएको थियो ।
पत्रकार सम्मेलनमा ट्रम्पले बताएअनुसार बग्दादीलाई अमेरिकी सैन्य कुकुरहरूले सुरूङभित्र लखेट्दै गएपछि उनले सुसाइड (बमजडित) भेस्ट पड्काएका थिए । सोही क्रममा उनका तीन सन्तानको समेत निधन भएको ट्रम्पले बताए। घटनामा दुई जना महिलाको पनि मृत्यु भएको छ जो उनका श्रीमती हुनसक्ने अनुमान गरिएको छ ।
राष्ट्रपति ट्रम्पले उत्तरी सिरियामा विशेष सैन्य अपरेशन गर्ने अनुमति दिएका थिए । सोही अपरेशन क्रममा अमेरिकी सैन्य विमान तथा हलिकप्टरले बग्दादी बसेको ठाउँमा आक्रमण गरेका थिए। आक्रमण क्रममा अमेरिकी सेनाहरू विमान तथा हेलिकप्टरबाट झरेर बग्दादी बसेको घरमा गोली हानेका थिए ।
यसपछि बग्दादी आफू बसेको ठाउँबाट आफ्ना तीन सन्तानसहित भागेर एउटा सुरूङभित्र छिरे । सुरूङ एकतर्फी मात्र भएकाले उनीहरू उम्किन सकेनन् । बग्दादीहरू सुरूङभित्र छिरेपछि अमेरिकी सेनाका कुकुरहरू पछिपछि लखेट्दै भित्र छिरेका थिए । भाग्न सक्ने अवस्था नभएपछि बग्दादीले आफ्नो शरीरमा लगाइराखेको सुसाइड भेस्ट पड्काउँदा उनीहरू मारिएको ट्रम्पले जानकारी दिएका छन् ।
’बग्दादी डरपोक भएर मर्यो । अब संसार धेरै सुरक्षित महशुस भएको छ,’ ट्रम्पका भनाइ उद्धृत गर्दै सिएनएनले लेखेको छ, ’बग्दादी पछिल्लो समय खुबै डराएको थियो । उसलाई अमेरिकी शक्तिले परास्त गर्छ भन्ने ठूलो डर थियो ।’
ट्रम्पका अनुसार केही साताअघिदेखि नै बग्दादीमाथि नजर राखिएको थियो । आक्रमणमा मारिएका व्यक्ति बग्दादी नै हुन् भनेर पुष्टि गर्न अमेरिकी सेनाले ’ल्याब’ नै बोकेर गएको पनि बताइएको छ ।
धेरै वर्ष लुकेर बसेका बग्दादीलाई यसै चिन्न सकिन्थेन । बग्दादीको सही पहिचान गर्न अमेरिकी सेनाले उनको डिएनए घटनास्थलमै लिएर गएका थिए । बग्दादी मारिएपछि त्यहीँ उनको डिएनए परीक्षण गरिएको थियो । यसरी मारिने व्यक्ति बग्दादी नै भएको ट्रम्पले पुष्टि गरेका छन् ।
बग्दादी बसेको घरमा हमला गर्दा त्यहाँ भएका ११ जना केटाकेटीलाई सुरक्षित बाहिर निकालिएको पनि ट्रम्पले जनाएका छन् ।
गत वर्ष रसियाली सेनाले आफ्नो आक्रमणमा बग्दादी मारिएको दाबी गरेको थियो । रसियाली सेनाको सो दाबीलाई गलत सावित गर्दै वैशाखमा बग्दादी एक भिडिओमार्फत सार्वजनिक भएका थिए ।
भिडिओमा उनले सिरियामा मारिएकाहरूको बदलाका रूपमा ८ देशमा दर्जनौं आक्रमण गरेको बताएका थिए । साथै सिरियामा गुमाएको भूभागको बदला लिने भनाइ राखेका थिए । उनी सन् २०१४ यता देखिएका थिएनन् । सार्वजनिक भएको भिडिओमा बागुजमा आफूहरू पराजित भएको उनले स्वीकार गरेका थिए ।
को हुन् बग्दादी ?
आईसीस प्रमुख बग्दादी संसारकै प्रमुख ’वान्टेड’ व्यक्ति थिए । सन् २०११ मा अमेरिकाले बग्दादीलाई आतंकवादी घोषणा गर्दै उनको गिरफ्तारी वा हत्या गर्नेगरी सूचना दिनेलाई दश करोड अमेरिकी डलर पुरस्कार दिने घोषणा गरेको थियो ।
सिरिया र इराकको ठूलो भूमि आफ्नो नियन्त्रणमा लिएर आइसिसले लामो समयसम्म आतंकवादी गतिविधि चलाउँदै आएको थियो ।
आइसिसले ६ महिनाअघि श्रीलंकाका विभिन्न ठाउँमा आक्रमण गरेको थियो जसमा २५९ जनाको मृत्यु भएको थियो। मृत्यु हुनेमा ४५ जना विदेशी थिए ।
ओसामा बिन लादेनले नेतृत्व गरेको आतंकवादी समूह अलकाइदा कमजोर हुँदै गएपछि आइसिसको प्रभाव बढ्दै गएको थियो । अलकाइदाका प्रमुख लादेनलाई पाकिस्तानमा उनी लुकेर बसेको एउटा घरमा आक्रमण गरेर अमेरिकाले मारिसकेको छ । त्यस्तै अमेरिकी सेनाले नेतृत्व गरेको संयुक्त फौजले अफगानिस्तानमा १० वर्ष लामो युद्धमा अलकाइदामाथि ठूलो क्षति पुर्याएको छ ।
सन् १९७१ मा उत्तरी इराकमा जन्मिएका बग्दादीलाई आतंकवादी हमला र लडाइँमा चतुर रणनीतिकार मानिन्थ्यो । उनी शुरूमा सन् २०१० मा इराकमा अलकाइदाको नेताका रूपमा उदाएका थिए । पछि अन्य आतंकवादी समूहहरू मिलाएर उनले आइसिसको नेतृत्व सम्हालेका थिए ।