निर्यात २६ प्रतिशतले बढ्यो, १८ अर्ब २५ करोड रुपैयाँको बस्तु निर्यात |
काठमाडौं । यस आर्थिक वर्षको साउन र भदौ महिनामा नेपालको निर्यात करिब २६ प्रतिशतले बढेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको दुई महिनाको वित्तीय स्थितिअनुसार समीक्षा अवधिमा निर्यात २५.९ प्रतिशतले बढेको हो ।
निर्यातमा उल्लेख्य सुधार आउँदा आयात भने १.२ प्रतिशतले घटेको छ । तथ्यांकअनुसार दुई महिनामा २ खर्ब २९ अर्ब रुपैयाँको बस्तु आयात भएको छ भने १८ अर्ब २५ करोड रुपैयाँको बस्तु निर्यात भएको छ ।
भारतमा हुने निर्यात सबैभन्दा बढी ४६ प्रतिशतले बढेको छ । पाम तेल, अलैंची, जुटका सामान, धागो कपडा लगायतका बस्तुको निर्यात बढेको छ ।
दुई महिनामा खासगरी पेट्रोलियम पदार्थ, पशुपंक्षी, चामल, सवारीसाधन र तिनका पार्टपूर्जाको आयात घटेको छ । साउन र भदौमा रकमका आधारमा पेट्रोलियम पदार्थको आयात ८ प्रतिशतले घटेको छ । यस अवधिमा २८ अर्ब ४६ करोडको पेट्रोलियम पदार्थ आयात भएको छ ।
जवकि गत वर्षको यस अवधिमा ३० अर्ब ९४ करोडको आयात भएको थियो । मुलुकमा आयात हुने बस्तुमध्ये पेट्रोलियम पदार्थको हिस्सा सबैभन्दा ठूलो छ ।
त्यस्तै जिउँदो पशुपंक्षीको आयात एक सय प्रतिशतले घटेको छ भने चामलको आयात २५ प्रतिशतले घटेको छ । गाडी तथा स्पेयर पार्टस्को आयात ९ प्रतिशतले घटेको छ ।
आयात घट्नु र निर्यात बढ्नुले व्यापार घाटामा सुधार देखिएको छ । अर्थात व्यापार घाटा गत आर्थिक वर्षको सोही दुई महिनाको तुलनामा ३। १ प्रतिशतले घटेको छ ।
दुई महिनामा मुलुकको व्यापार घाटा २ खर्ब ११ अर्ब रुपैयाँ छ । गत वर्षको यसै अवधिको तुलनामा यो ३। १ प्रतिशतले कमी हो ।
गत वर्षको यस अवधिमा निर्यात जम्मा ८ प्रतिशतले बढेको थियो भने आयात ३८ प्रतिशतले बढेको थियो । मुलुकको व्यापार घाटामा आएको सुधारसँगै भुक्तानी सन्तुलन समेत सकारात्मक बनेको छ। दुई महिनामा मुलुकको भुक्तानी सन्तुलन ८ अर्ब ८३ करोडले बचतमा छ। गत वर्षको यस अवधिमा २५ अर्ब ४५ करोडले नोक्सानीमा थियो ।
मुलुकमा भित्रिने र मुलुकबाट बाहिरिने रकमको अन्तरलाई शोधनान्तर स्थिति अर्थात भुक्तानी सन्तुलन भन्ने गरिन्छ।