डेढ दर्जन बढी जलविद्युत आयोजनामा लगानी गर्न बंगलादेशको प्रस्ताव |
काठमाडौं । बंगलादेशले नेपालका डेढ दर्जन बढी जलविद्युत आयोजनाहरुमा लगानी गर्नका लागि चासो देखाएको छ । नेपाल–बंगलादेश संयुक्त प्राविधिक समिति (जेटिजी)को चौथो बैठकका क्रममा बंगलादेशका प्रतिनिधिहरुले नेपालका जलविद्युत आयोजनामा लगानीका लागि प्रस्ताव गरेका हुन् ।
नेपाल र बंगलादेशबीच विद्युत व्यापार सम्झौता (पिटिए) भइसकेको छ । नेपालमा उत्पादित विद्युतको सम्भावित बजारका रुपमा हेरिएको बंगलादेशले आफैं उत्पादनमा संलग्न हुन चासो देखाएको हो । नेपाल र बंगलादेशबीच विद्युत व्यापारका लागि तयार पारिने प्रशारण लाइन संरचना भारतको भूमिमा बन्ने भएका कारण यो विषयमा भारतको पनि भूमिका खोजिँदै आएको छ । यसका लागि त्रिदेशीय वार्ताको प्रयास गर्नुपर्नेमा नेपाल र बंगलादेशका प्रतिनिधिहरुको जोड रहेको बैठकमा सहभागी अधिकारीहरुले बताएका छन् ।
बुधबार टुंगिने सहसचिवस्तरीय उक्त बैठकमा दुई देशबीच सहुलियतपूर्ण व्यापार सम्झौताका लागि तयार पारिएको प्रारम्भिक खाकामा सहमति जुटाइने जनाइएको छ ।
गतवर्ष काठमाडौं मै भएको दुई देशका सचिवस्तरीय जोइन्ट स्टेयरिङ ग्रुपको बैठकमा दुई देशबीचको पारवहन र वाणिज्य सन्धिलाई प्राथमिकतामा राखिएको थियो । वाणिज्य तथा पारवहन सन्धिले तयार पारेको दुई देशबीचको व्यापारको मार्ग्दिशाका आधारमा सहुलियतपूर्ण व्यापारको विषयलाई बैठकको पहिलो प्राथमिकतामा राखिएको छ । यो बैठकबाट सहुलियतपूर्ण व्यापारका विषयमा हुने विस्तृत सम्झौताका लागि प्रारम्भिक खाकामा सहमति जुटाइनेछ ।
नेपाल र बंगलादेशबीच २०३२ सालमा नै व्यापार, भुक्तानी तथा पारवहन सम्झौता भएको थियो। आर्थिक वर्ष २०७५∕७६ मा नेपाल र बंगलादेशबीच ५ अर्ब ५५ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको देखिन्छ ।
जसमध्ये बंगलादेशबाट नेपालामा ४ अर्ब २५ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ भने नेपालबाट बंगलादेश १ अर्ब ३० करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको देखिन्छ ।