नेपाल–बंगलादेश वाणिज्य सहसचिव स्तरीय वार्ता शुरु |
काठमाडौं । नेपाल र बंगलादेश द्धिपक्षीय व्यापार वार्ता काठमाडौंमा सुरु भएको छ । वार्ताको नेपाली प्रतिनिधिको नेतृत्व उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयकास सहसचिव नवराज ढकालले गरेका छन् भने बंगलादेशको तर्फबाट त्यहाँका अतिरिक्त सचिव सरिफा खानले गरेकी छिन् ।
ढकालका अनुसार बंगलादेशसँग विद्युत व्यापार, विद्यार्थीका लागि भिसा सहजीकरण, कार्गो बोक्ने सवारी साधन, बन्दरगाह प्रयोग, धागो निकासी लगायत २३ विषयमा छलफल हुनेछ । छलफलको एजेण्डालाई मन्त्रीपरिषदले समेत स्वीकृति दिइसकेको छ । विद्युत व्यापारको विषयमा भने सामान्य छलफल हुनेछ । सोही वार्ताबाटै विद्युत व्यापारको विषयमा छलफल गर्न अर्को समिति निर्माणको प्रस्ताव नेपाली पक्षले गर्दैछ ।
बंगलादेशसँग सन् १९७६ मा चार वटा बन्दरगाह प्रयोग गर्न पाउने गरी सम्झौंता भएको थियो । हाल नेपालले फुलबारी बन्दगाह मात्र प्रयोग गर्न पाएको छ। अन्य बन्दरगाह प्रयोग सहज छैन ।
बंगलादेश र नेपाल दुबै विकासील राष्ट्र भएकोले स्वदेशी उद्योग संरक्षणका लागि विभिन्न सेफगार्ड उपाय अबलम्बन गरिरहेका छन् । तयारी पोशाक उत्पादनमा विश्वमै अग्रणी रहेको बंगलादेशले धागो आयातमा कडाई गरेको छ भने नेपालले पनि स्वदेशी उद्योग संरक्षणको लागि भन्दै बंगलादेशी जुस आयातमा रोक लगाएको छ ।
स्रोतका अनुसार बंगलादेशी पक्षले जुस निकासीमा लगाइएको प्रतिवन्धको मुद्दालाई प्राथमिकतामा राख्नेछ । नेपालले जुस निकासीमा प्रतिवन्ध लगाउँदा बंगलादेशको कम्पनी प्रान सबैभन्दा बढी प्रभावित भएको छ । प्रानको जुस झण्डै एक अर्बको नेपालमा आयात हुन्थ्यो ।