डीभी भर्न पासपोर्ट बनाउनेको भीड लाग्यो, एक दिनमै ३ करोड राजश्व संकलन |
काठमाडौं । अमेरिकाले यसै वर्षदेखि डीभी भर्न अनिवार्य पासपोर्ट बनाउनु पर्ने नियम ल्याएको छ । यस्तो नियम ल्याइदिएपछि धेरै युवायुवतीहरु पासपोर्टका लागि लाइन लाग्न पुगिरहेका छन् । फलस्वरुप राहदानी विभागमा भीड ह्वात्तै बढेको छ ।
विभागका अनुसार दोब्बर शुल्क तिरेर तीन दिनमा पासपोर्ट बनाउन आउने सेृवाग्राहीको संख्या सामान्य अवस्थामा भन्दा अहिले तीन गुणा वृद्धि भएको छ । दैनिक ६ देखि ८ सय हाराहारीले राहदानी बनाउन निवेदन पर्ने गरेको विभागमा दशैंपछि २ हजारदेखि २८ सयसम्म पुगेको विभागका निर्देशक एवं प्रवक्ता तीर्थराज अर्यालले जानकारी दिए ।
अर्यालका अनुसार आइतबार एकै दिन २७ सय २६ जनाले राहदानी बनाउनका लागि निवेदन दिएका थिए । जिल्लाहरुबाट राहदानी वितरण थालेपछि विभागमा निवेदन आएको यो अहिलेसम्मकै सबैभन्दा धेरै संख्या हो ।
जिल्लास्तरबाट छिटो माग भएको राहदानी हवाई सेवामार्फत वितरण थालेपछि दैनिक ९ सय हाराहारी पर्ने आवेदन ६ सय झरेको थियो । तर दशैंलगत्तै पुनː बढेको विभागले जनाएको छ । आइतबार राहदानी माग गर्दै आवेदन गर्नेले तिरेको एक दिनको राजश्व २ करोड ९४ लाख रुपैयाँ भन्दा धेरै भएको विभागले जनाएको छ ।
तीन दिनमा राहदानी लिने गरी १० हजार रूपैयाँ राजश्व तिरेर पासपोर्ट बनाउनेहरुको संख्या उल्लेख्य मात्रामा बृद्धि भएको छ । दशैं बिदा पछिको सोमबारदेखि कार्यालयमा भिड दिनदिनै बढ्दै गएको विभागले जनाएको छ । विभागमा प्राप्त सूचना अनुसार जिल्लाहरुमा पनि छिटो गरी राहदानी बनाउन निवेदन गर्नेहरुको भीड लाग्न थालेको छ ।
भीड बढेकै कारण कार्यालय राती १० बजेसम्म खोल्न परेको विभागले जनाएको छ । दशैपछि बिहान ७ बजे खुलेर राति ९ बजेसम्म कार्यालय खुल्नु सामान्य बनेको प्रवक्ता अर्यालले बताए ।
विभागले एक दिन, दुई दिन र तीन दिनमा उपलब्ध गराउने गरी राहदानी वितरण गर्दै आएको छ । एक दिनमा राहदानी लिन चाहनेहरुले १५ हजार, दुई दिनका लागि १२ हजार र तीन दिनका लागि १० हजार रुपैयाँ राजश्व तिर्नु पर्छ । जिल्लाबाट पनि तीन दिन र एक महिनाका लागि राहदानी आवेदन गर्न सकिन्छ ।
राहदानी बनाउन आउनेले डीभी भर्नकै लागि आएको नबताए पनि डीभीबाहेक तत्कालै राहदानी अनिवार्य चाहिने कुनैे घटना नदेखिएको प्रवक्ता अर्याल बताउँछन् । अमेरिकाले सन् २०२१ का लागि अक्टोबर २ अर्थात असोज १५ गतेदेखि देखि डीभीको आवेदन खुल्ला गरेको थियो । आवेदनको समयसीमा ५ नोभेम्बर अर्थात कात्तिक १९ गतेसम्म छ ।