कुवेतको जजिरा एयरवेज लाई उडान अनुमति, मंसिरदेखि साताको चारवटा उडान गर्ने |
काठमाडौं । कुवेतको जजिरा एयरवेजले नेपाल नागरिक उड्डयन प्राधिकरणबाट उडान स्वीकृति पाएको छ । कम्पनीको अपरेशन म्यानुअल, सेक्युरिटी म्यानुअल लगायत विभिन्न कागजपत्र अध्ययनपछि सोमबार जजिरालाई उडान अनुमति दिइएको प्राधिकरणले जनाएको छ ।
’हामीले कम्पनीको विस्तृत अध्ययन पछि सोमबार उडान अनुमति दिएका छौँ । मंसीर देखि साताको चारवटा उडान गर्नका लागि अनुमति दिइएको छ ।’ प्राधिकरणका एक कर्मचारीले भने ।
प्राधिकरणका अनुसार जजिरालाई आइतबार, सोमबार, बुधबार र शुक्रबार गरी चारदिनको लागि नियमित उडान इजाजत दिइएको छ । कम्पनीलाई दिनको ४ː२०बजे देखि ५ː५० बजेको स्लट दिइएको प्राधिकरणले जनाएको छ । ’शुरुमा साताको चार दिन उडान अनुमति दिइएको छ । निकट भविष्यमा कम्पनीलाई साताको सातै दिन उडान अनुमति दिइने योजना रहेको छ।’ ती कर्मचारीले भने ।
प्राधिकरणका अनुसार जजिराको जिएसए (जेनरल सेल्स एजेन्ट) सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिस लिमिटेड रहेको छ । सन् २००४ मा स्थापना भएको कुवेतको जजिरा एयरलाइन्सले खाडी मुलुकमा उडान शुरु गरेको हो । हाल यो कम्पनीले अहमदावाद, वहराइन, काइरो, दिल्ली, दोहा, इस्तानबुल, रियाद लगायत विभिन्न ३५ वटा गतब्यमा उडान गर्दै आएको छ ।
यो वायुसेवा कम्पनीले एयरबस ३२० र एयरबस ३२० नियो प्रकारका जहाजमार्फत उडान गर्दै आएको छ । कम्पनीले सन् २०१७मा मिडल इस्ट लो कस्ट एयरलाइनको अवार्ड हासिल गरेको जनाएको छ । यसअघि नेपालमा उडान गर्दै आएको कुवेतको वातानियाँ एयरलाइन्सको उडान भने खारेज भइसकेको प्राधिकरणले जनाएको छ ।
प्राधिरकणका अनुसार तत्काल उडान भर्न इच्छुक भारतको स्पाइस जेटको उडान अनुमति प्राधिकरणमा अध्ययन प्रक्रियामा रहेको छ भने अर्को भारतीय कम्पनी भिस्ताराको मन्त्रालयमा अध्ययनको प्रकृयामा छ ।