निगमको ओशाका उडानमा औसत २ सय यात्रु पुगे |
काठमाडौं । दशैं, गैरआवासीय नेपाली संघ (एनआरएनए) विश्व सम्मेलन र मुख्य पर्यटकीय मौसमका कारण नेपाल एयरलाइन्सको जापान उडानमा यात्रु बढेका छन् । निगमले दशैंयता प्रतिउडान औसत २ सय यात्रुलाई सेवा दिइरहेको निगमका कार्यकारी अध्यक्ष मदन खरेलले जानकारी दिए ।
‘हामीले जूनदेखि जापानमा शुरु गर्ने भनेको उडान रद्द गरेर अगष्टमा सार्यौंय, यसो गर्नुको पछाडि यात्रुको उपलब्धता होस् भन्ने नै थियो,’ उनले भने, ‘अहिले जापान उडानमा क्रमशː यात्रुको चाप बढिरहेको छ ।’
दशैंको मुखमा करिब पूर्ण अक्कुपेन्सीमा उडेका निगमका जहाजमा अहिले प्रतिउडान २ सयभन्दा बढी एकतर्फी यात्रु रहेको उनले जानकारी दिए । सुरुआती दिनमा न्यून यात्रुबाट सेवा शुरु गरेको भए पनि चाडबाड र पर्यटकीय मौसमले जापानमा उडानमा सकारात्मक संकेत मिलेको हो ।
निगमले आगामी जनवरीबाट जापानको राजधानी नारितामा उडान गरिसक्ने बताएको छ । ‘हामीले नारितामा स्लट पाइसकेका छौं, अब नियमित इन्धन भर्ने व्यवस्था र अन्य व्यवस्थापकीय काम सकेर उडानको मिति तोक्छौं’, खरेलले भने ।
नारितामा धेरै नेपाली समुदाय बस्ने र राजधानीसमेत भएकाले अझ बढी यात्रु पाउने अपेक्षा गरिएको उनले बताए ।