पोलिग्राफ परीक्षण गर्न आलमद्वारा अस्वीकार |
काठमाडौं । बम बनाउँदै गर्दा पड्केर घाइते भएकाहरूलाई इँट्टाभट्टामा ज्युँदै पोलेर मारेको आरोप लागेका नेपाली कांग्रेसका सांसद मोहम्मद आफताब आलमले पोलिग्राफ परीक्षण गर्न अस्वीकार गरेका छन् ।
‘हामीले पोलिग्राफ टेस्ट गर्न उहाँको सहमति खोजेका थियौं तर उहाँले मान्नु भएनु’ प्रहरी स्रोतले भन्यो । यसलाई भरपर्दो प्रमाण नमानिए पनि कुनै व्यक्तिले घटनाका बारेमा साँचो–झूटो के बोल्यो भन्ने पत्ता लगाउन यो प्रविधि र परीक्षणले धेरै सघाउ पुर्याउँदै आएको छ ।
यसैगरी उनको सरकारी वकिलसमक्षको बयान सकिएको छ । बयानका क्रममा उनले १२ वर्ष अगाडि घटेको सो घटना घट्दै नघटेको बताएका छन् ।
यसक्रममा सोधिएका सबै प्रश्नमा आलमले इन्कारी बयान दिँदै आफूले घटनामा मारिएका र जाहेरीवालाहरूलाई चिन्दै नचिन्ने बताएको प्रहरी स्रोतले जानकारी दिएको छ ।