मंसिरभित्रै निजगढ विमानस्थलको शिलन्याश गर्छौ ː पर्यटनमन्त्री योगेश भट्टराई |
काठमाडौं । पर्यटनमन्त्री योगेश भट्टराईले निजगढ अन्तरराष्ट्रिय विमानस्थलको शिलन्याश मंसिरभित्रै गर्ने बताएका छन् । ‘मंसिरभित्रै शिलन्यास गर्नका लागि विभिन्न मन्त्रालयसँग छलफल गरिरहेका छौं । यो गेम चेन्जर परियोजना समयमै शिलन्याश गरेर काम अघि बढाउन लागिरहेका छौं’ भट्टराईले भने । भट्टराई मन्त्री भएपछि मंसिरभित्रै निजगढ विमानस्थल शिलन्याश गर्ने बताएका थिए । विमानस्थल निर्माणका लागि आवश्यक केही प्रकृयाहरु समेत अघि बढेका छन् ।
सरकारले १७ दिनअघि निजगढ अन्तरराष्ट्रिय विमानस्थल सार्वजनिक–निजी साझेदारी –पीपीपी) मोडलमा बनाउने निर्णय गर्दै ज्यूरिच एयरपोर्ट इन्टरनेशनल एजीलाई छनौंट गरिसकेको छ ।
निजगढ विमानस्थल बनाउन आशयपत्र पेश गरेका सात वटा कम्पनीमध्ये ज्यूरिच छानिएको थियो । कम्पनीले ४५ दिनभित्र आर्थिक तथा वित्तिय प्रस्ताव पठाउनेछ । यो प्रस्तावका आधारमा लगानी बोर्डले थप निर्णय गर्नेछ ।
निजगढ विमानस्थलको निर्माण प्रकृया अघि बढ्दा रुख कटानको विषय सबैभन्दा विवादित बनेको थियो । त्यसपछि सरकारले कम रुख काटेर विमानस्थल बनाउनेतर्फ केन्द्रित भएको थियो । यो आयोजनाका प्रमुख ओमनारायण शर्माले विमानस्थलमा सात किलोमिटर लम्बाई र तीन किलोमिटर चौडाईमा विमानस्थल बनाउँदा एक लाख १८ हजार सात सयको संख्यामा ठुला रुख पर्ने बताए ।
विमानस्थल निर्माण हुने स्थानमा रहेको टाँगिया वस्तीको समस्या समेत समाधान हुने भएको छ । टाँगिया वस्ती स्थानान्तरण लागि दुईवटा मोडालिटी रहेको छ । वस्ती स्थानान्तरण गर्दा सम्वन्धित व्यक्तिलाई मुआब्जा दिइने वा स्थानीय सरकारको साझेदारीमा गर्ने दुई विकल्प रहेका छन् ।