ठमेलमा होटल नेपाली घर |
काठमाडौं (आपास) । काठमाडौंको प्रमुख पर्यटकीय केन्द्र ठमेलमा होटल नेपाली घर सञ्चालनमा आएको छ । विशिष्ट विशेषतासहितको उक्त होटलको संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रविन्द्र अधिकारीले उद्घाटन गरेका हुन् ।
करीब ४ वर्षमा निर्माण सम्पन्न भएको ५ तले उक्त होटललाई नेपाली कला र संस्कृतिको पहिचानसहित अघि बढाइने होटलका प्रबन्ध निर्देशक राजु श्रेष्ठले बताए ।
होटलको बाहिरी बनावट परम्परागत नेपाली शैलीमा र भित्री बनावट प्यागोडा शैलीमा तयार गरिएको छ । स्थानीय शिल्पीले विशुद्ध नेपाली शैलीमा आकर्षक सजावट गरिएको छ । होटलका आवश्यक सरसामान नेपाली बजार प्रवद्र्धन गर्ने उदेश्यले ग्रामीण भेगका महिलाले तयार गरेका कलाशीपलाई प्राथमिकताका साथ प्रयोगमा ल्याइएको छ ।
पाहुनालाई अत्याधुनिक सुविधा, नेपाली जीवनशैली र परम्परासँग साक्षात्कार गराउने लक्ष्य होटलले लिएको छ ।अत्याधुनिक प्रविधिले सुसज्जित होटलमा पाँचतारे होटल सरह सुविधा उपलब्ध छन् । होटलमा फिटनेस सेण्टर, मिटिङ हल, दिनभरि नै सेवा दिने रेस्टुराँ, रुम सर्भिस उपलब्ध रहेको श्रेष्ठले बताए ।