चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण ː पोष्टर च्यात्नेदेखि फ्रि तिब्बत गतिविधिमा संलग्न पक्राउ |
काठमाडौँ । चिनियाँ राष्ट्रपति सी जिन पिङको नेपाल भ्रमणमा स्वागतको लागि सडक छेउमा टाँसिएको पोष्टर च्यात्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा उदयपुरका गोपाल सार्की र रौटहटका राजकुमार यादव रहेका छन् । तीनकुनेको पुलमा राखिएका पोष्टर च्यातेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले पुष्टि गरे ।
उनीहरूलाई महानगरीय प्रहरी वृत्त, बानेश्वरमा राखिएको छ । डीएसपी बोगटीका अनुसार मापसे गरेर गोपाल सार्कीले राष्ट्रपति सीको नेपाल भ्रमणमा स्वागतको लागि सडक छेउमा राखिएको पोष्टर च्यातेका हुन् । मापसे गरेर सार्कीले च्यातेको त्यही पोष्टर राजकुमारले पछि च्यात्दै हिँडेको प्रहरीले जनाएको छ ।
यस्तै फ्रि तिब्बतको गतिविधिमा संलग्न रहेको आशंकामा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको डीएसपी बोगटीले जानकारी दिए ।
चोभारबाट २ जना, स्वयम्भुबाट १ जना र बौद्धबाट १ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएका चारै जनाको नाम भने प्रहरीले गोप्य राखेको छ ।
उनीहरुमाथि थप सोधपुछ भइरहेको प्रहरीले जनाएको छ ।