बेइजिङमा नेपाली हिमालय एयरलाइन्सले पायो स्लट |
काठमाडौं । संसारकै ठूला विमानस्थलमध्ये एक बेइजिङको डाक्सिङ विमानस्थलमा उडान गर्न नेपालको हिमालय एयरलाइन्सले स्लट प्राप्त गरेको छ । चीनका विभिन्न शहरमा उडानको तयारी गरिरहेको उक्त एयरलाइन्सले बेइजिङको नयाँ विमानस्थलमा स्लट प्राप्त गरिसकेको कम्पनीका उपाध्यक्ष विजय श्रेष्ठले जानकारी दिए ।
विमानस्थलले वायुसेवा कम्पनीलाई उडान तथा अवतरणका लागि उपलब्ध गराउने समयलाई स्लट भनिन्छ । डाक्सिङमा दैनिक एक उडान गर्ने गरी स्लट प्राप्त भएको उनले बताए ।
कम्पनीले करिब एक महिनापछि चीनमा उडान विस्तारको योजना बनाएको छ । हिमालयले चीनमा उडान बिस्तार गर्न सके त्यो नेपाली कम्पनीको प्रतिनिधित्व गर्ने एक मात्र कम्पनी हुनेछ । चीनमा नेपाल एयरलाइन्सले उडान विस्तारको योजना बनाए पनि तालिका सार्वजनिक गरिसकेको छैन । उता, चीनबाट भने नेपालमा ५ वटा कम्पनीले उडान गर्छन् ।
हिमालयले नयाँ जहाज ए ३१९ जहाज थप्दैछ । १ सय २८ सिट क्षमताको उक्त जहाजबाट कम्पनीले बेइजिङमा उडान गर्ने भएको छ । काठमाडौंबाट करिब साढे ४ घण्टाको उडानमा जहाज बेइजिङ पुग्नेछ ।
मलेसियामा पनि उडान शुरु गर्ने
मलेसियाको रोजगारी खुलेसँगै हिमालय एयरलाइन्सले मलेसियामा उडान विस्तार गर्ने भएको छ । मलेसियामा यस अघि नै उडान गरेको कम्पनीले मलेसियाको रोजगारी बन्द भएपछि उडान कटौती गरेको थियो ।
हिमालय एयरलाइन्ससँग अहिले ए ३२०–२१४ सिरिजका ३ वटा जहाज छन् । ती जहाजबाट कम्पनीले अवुधावी, दमाम, दोहा र ढाकामा उडान गरिरहेको छ । मे ३१ २०१६ बाट उडान थालेको हिमालयले सन् २०२० मा करीव आधा दर्जन चिनियाँ शहरमा पुग्ने लक्ष्य लिएको छ ।
चीनको बेइजिङसहित ल्हासा, चाङसा, नाङचाङ, गुइयाङ, चोङकिङ, अलि र सेन्जेङमा उडान बिस्तारको योजना रहेको जानकारी गराएको छ ।