अब नागढुंगामा जाम हुँदैन, ढुक्कले यात्रा गर्नुस् ː ट्राफिक प्रहरी |
काठमाडौं । नागढुंगा जामका बिषयमा सामाजिक सञ्जालमा यात्रुको आक्रोश पोखिएका ‘स्टाटस’ले भरिएका छन् । यो बाटो अस्तव्यस्त भएपछि सरकारले जाम हटाउन प्रहरीलाई निर्देशन नै दिनुपर्यो । यस्तो देख्दा यसपालिको दसैं सास्तीमै बित्ने त होइन भन्ने आशंका भइरहेका बेला महानगरीय ट्राफिक प्रहरी महाशाखाले भने सबै समस्या हल भइसकेको र अब त्यस्तो समस्या नहुने भन्दै नागरिकलाई आश्वस्त पारेको छ ।
‘हिजो बिहानको अवस्था भन्नुपर्दा नागढुंगामा सबै सहज छ, गाडी क्यूमा समेत छैन, अब ढुक्कसँग यात्रा गर्दा हुन्छ, कुनै अकल्पनीय घटनाबाहेक समस्या हुने छैन’, महाशाखाका प्रहरी उपरीक्षक रविराज पौडेलले भने ।
उनका अनुसार अब विस्तारै उपत्यकाको चाप घट्दो क्रममा छ । खुसी र उमंगको चाड बडादसैं आजदेखि औपचारिक रूपमा शुरू भएको छ ।
यो उमंग तबसम्म रहिरहन्छ, जबसम्म नेपाली सहज रूपमा आ(आफ्नो घरसम्म पुग्न सक्छन्। त्यो अवस्थामा पुर्याउनका लागि ट्राफिक प्रहरी अहोरात्र खटिएको छ भन्छन्, महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकाल ।
ट्राफिक प्रहरीका अनुसार अघिल्लो हप्ता केही दिन नियमित वर्षा भयो। नागढुंगा तलको ढलान गरिएको सडकमा गाडी चिप्लिएर रोकिए, त्यही समयमा केही गाडीहरू बिग्रदा यात्रुले जामको समस्या झेल्नुपर्यो । रातभरको प्रयाससमेत सफल नहुँदा उत्पन्न समस्या शनिबारबाट भने हटेको प्रहरीले दाबी गरेको छ ।
महाशाखाका प्रमुख ढकालले यो क्षेत्रमा ४० भन्दा बढी प्रहरी खटाइएको र गाडी तान्ने दुइटा र्यापकरसमेत तयारी अवस्थामा राखिएको जानकारी दिए ।
उक्त र्यााकरको ४० टनसम्मका गाडी तान्ने क्षमता छ । यातायात सहज पार्न महाशाखाले प्रहरी निरीक्षककै नेतृत्वमा १० जना छुट्टै ट्राफिक प्रहरी खटाएको छ ।
यस्तै, आठ जना ट्राफिक प्रहरी मोटरसाइकल गस्तीमा सक्रिय छन्। उनीहरूले उक्त सडकमा ओभरटेक गर्न नदिने र ओभरटेक गरेमा तत्कालै कारबाही गर्नेछन्।
धादिङबाट समेत प्रहरी परिचालन गरिएको छ । हिजोदेखि अत्यावश्यक सामान बोकेका बाहेक ठूला लहरी तथा ट्रकहरूलाई सात दिनका लागि आवागमन रोकेको प्रहरीले जनाएको छ ।