पारसको शतकमा सिंगापुरविरुद्ध नेपालको सानदार जित |
काठमाडौं । कप्तान पारस खड्काले ऐतिहासिक टी–२० शतक प्रहार गरेको खेलमा नेपालले सिंगापुरमाथि शानदार जित हात पारेको छ ।
त्रिकोणीय सिरिजअन्तर्गत शनिबार भएको खेलमा नेपालले सिंगापुरलाई ९ विकेटको फराकिलो अन्तरले पराजित गरेको हो ।
योसँगै नेपालले सिरिजमा पहिलो जित हात पारेको छ । यसअघि शुक्रबार भएको पहिलो खेलमा नेपाललाई जिम्बावेले ५ विकेटले हराएको थियो ।
सिंगापुरले दिएको १५२ रनको लक्ष्य नेपालले १६ ओभरमा १ विकेटको क्षतिमा पूरा गर्यो । नेपालको जितमा कप्तान पारस खड्काले नटआउट १०६ रन हानेका थिए । पारसले ५२ बलमा ७ चौका र ९ छक्का हिर्काए । पारसको यो टी–२० मा पहिलो र समग्रमा पाँचौ अन्तर्राष्ट्रिय शतक हो ।
पारससँगै आरिफ शेखले पनि ३८ बलमा नटआउट ३९ रन जोडे। त्यसअघि इशान पाण्डे ५ रनमा आउट भएका थिए ।त्यसअघि सिंगापुरले २० ओभरमा ३ विकेटको क्षतिमा १५२ रन जोड्यो। उसका लागि टिम डेभिडले नटआउट ६४ रन जोडे ।
बलिङमा नेपालका करण केसीले २ विकेट लिए। डेब्यू खेलाडी सुसन भारीले १ विकेट हात पारे। सिरिजमा नेपालले मंगलबार जिम्बावेसँग खेल्नेछ ।