४ सय १७ मेगावाटको नलसिंहगाड जलविद्युत आयोजना लाई जाईकाले सघाउने, पीपीपी मोडेलमा बनाउन प्रस्ताव |
काठमाडौं । जाजरकोटमा रहेको ४ सय १७ मेगावाट क्षमताको नलसिंहगाड जलविद्युत आयोजनालाई पीपीपी मोडेल (सार्वजनिक निजी साझेदारी) मा अघि बढाउन जापान सहयोग नियोग –जाइका) ले प्रस्ताव गरेको छ ।
जापान भ्रमणमा रहेका ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन र जाइकाका कार्यकारी उपाध्यक्ष काजुहिको कोशिकावाबीच आयोजना अघि बढाउने विषयमा सहमति भएको हो ।
ऊर्जा मन्त्री पुनका अनुसार जाइकाले आयोजनालाई उच्च प्राथामिकतामा राखेर पीपीपी मोडेलमा अघि बढाउने प्रस्ताव गरेको छ ।
‘जाइकासँगको छलफल अत्यन्तै सकरात्मक भएको छ, डीपीआरको अध्ययनलगत्तै परियोजनालाई अघि बढाउने गरी पहल थाल्ने प्रतिवद्धता जनाएकाले यसले मूर्त रुप पाउनेमा म आशावादी छु’ मन्त्री पुनले भने ।
त्यसका साथै छलफलको क्रममा जाइकाका उपाध्यक्ष कोशिकावाले नेपालको ऊर्जा क्षेत्रमा थप लगानी गर्ने प्रतिवद्धता समेत जनाएका छन्।
मन्त्री पुनले यो परियोजनालाई अघि बढाउने विषयमा बुधवार जापानका संसदीय, परराष्ट्र, उपमन्त्री नोरुहिरो नाकायामा, कृषि, वनतथामत्स्यपालन राज्यमन्त्री योसिताका ईता र जापान संसदीय मैत्री समूहका अध्यक्ष तथा लिबरल डेमोक्राटिक पार्टीका महामन्त्री तोसिहिरो निकाइसँग छलफल गरेका थिए ।
भेटवार्तामा उर्जामन्त्रालयका सहसचिव तोया अधिकारी, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङल गायतका उच्च अधिकारीहरु पनि सहभागी थिए ।
भेटमा मन्त्री पुनले नेपालमा हाल स्थायी सरकार रहेको भन्दै थप लगानीका लागी पनि आग्रह गरेका थिए। उनले नेपालमा जलविद्युतको बजार समेत सुरक्षित रहेको र सजिलै नाफा समेत लिन सक्ने वातावरण वर्तमान सरकारले बनाएको पनि दावी गरे ।
मन्त्री पुनले कुलेखानी जलाशययुक्त आयोजना र कन्काई सिंचाइ आयोजनामा जापानले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गरे ।
आगामी १० वर्षमा नेपालले १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको र उत्पादित विजुली बेच्नका लागि भारत र बंगलादेशसँग सम्झौता भइसकेको मन्त्री पुनको भनाई थियो । उनले उत्पादित बिजुलीको लागी आन्तरीक र बाह्य बजार बनाउन सरकार सक्षम रहेको समेत धारणा राखेका थिए ।
मन्त्री पुनले जापानमा जलविद्युत क्षेत्रमा काम गरिरहेका लगानीकर्तालाई नेपालमा लगानी गर्न समेत आग्रह गरेका छन्।
चार दिने जापान भ्रमणमा रहेका मन्त्री पुनले २५ भन्दा बढी कम्पनीका प्रतिनिधी र एक सय भन्दा बढी सहभागी भएको अन्तरक्रिया कार्यक्रममा नेपालको जलविद्युत क्षेत्रमा लगानीको लागी सरकारले उपयुक्त वातावरण बनाएको भन्दै नेपालमा लगानी गर्न आग्रह गरेका थिए ।
कार्यक्रममा मन्त्री पुनले जापानी लगानीकर्तालाई नेपाली लगानीकर्तासरह सुविधा दिने घोषणा समेत गरेका छन्।